काठमाडौं- सरकारले सेवा, सुविधा बापतको रकम कटौती गरेको भन्दै काम छोडेर आन्दोलनमा उत्रिएका पुनर्निर्माण प्राधिकरणका प्राविधिक इन्जिनियरहरू अन्ततः काममा फर्किएका छन्।
इन्जिनियरहरु काममा फर्किएको पुनर्निर्माण प्राधिकरणमा सिइओ सुशील ज्ञवालीले ट्विट मार्फत जानकारी गराएका हन्।
विरोधमा उत्रिएका इन्जिनियरलाई काममा फर्काउन सहयोग गरेको नेपाल इन्जिनियर्स एशोसियसन लगायत सरोबारवाला सबैलाई ज्ञवालीले धन्यवाद समेत दिएका छन्।
पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले सेवा, सुविधा बापतको रकम कटौती गर्ने निर्णय सरकारले गरेपछि त्यसको विरोधमा एक साता पहिलेदेखि पुनर्निर्माणको काम छोडेर काठमाडौंमा आन्दोलन सुरु गरेका थिए। उनीहरुले खाइपाइ आएको सुविधावापतको रकम कटौति नगर्न सरकारसँग माग गर्दै आन्दोलन गर्दै आएका थिए।
पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको स्वास्थ्य बिमा र दुर्घटना बिमाको व्यवस्था गर्न सरकारसँग माग समेत गर्दै आएका थिए।
आज दिउँसो मात्रै सहरी विकास मन्त्रालय घेराउ गर्न सिंहदरबारको दक्षिणी गेट पुगेका इन्जिनियरमाथि प्रहरीले लाठी चार्ज गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।