काठमाडौं– इन्टरनेसनल एसोसिएन अफ एथ्लेटिक्स फेडेरेसन (आइएएएफ) ले नेपाल एथ्लेटिक्स संघको निलम्बन गर्ने चेतावनी दिएको छ। युवा तथा खेलकुद मन्त्रालयलाई पत्रचार गर्दै नेपाल एथ्लेटिक्स संघले समयमै निर्वाचन गर्न नसकेको कारण देखाउदै निलम्बन गर्ने चेतावनी दिएको हो।
आइएएएफले गत मार्च १५ मा गरेको पत्राचारमा नेपाल एथ्लेटिक्स संघले एक वर्षसम्म नयाँ नेतृत्वका लागि निर्वाचन गर्न नसकेको स्मरण गराएको छ। जसले गर्दा आइएएएफको विधान मिचिएको उल्लेख गर्दै खराब सन्देश गएको उल्लेख गरिएको छ। आइएएएफले सकेसम्म छिटो निर्वाचन नगराइए निलम्बन गर्नुका साथै अन्तर्राष्ट्रिय, क्षेत्रीय र महादेशीय प्रतियोगितामा भाग लिन बन्चित हुने पनि बताएको छ।
पत्र राष्ट्रिय खेलकुद परिषद र एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहलाई सिसी गरिएको छ।
अध्यक्ष शाहको ४ वर्षे कार्यकाल २०७५ साउनमै सकिएको थियो। गत जेठमा बसेको संघको कार्यसमिति बैठकले साउन २९ गते चितवनको सौराहमा निर्वाचन गर्ने निर्णय गरेको थियो। एसियन गेम्सको तयारीमा रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले निर्वाचन रोक्न पत्र पठाएपछि भदौ २२ गतेका लागि निर्वाचन सारिएको थियो। यद्यपी त्यतिबेला पनि निर्वाचन हुन सकेको थिएन। राष्ट्रिय खेलकुद परिषद्ले अनुमति नदिँदा तथा आन्तरिक विवादका कारण अहिलेसम्म निर्वाचन हुन सकेको छैन।
आइएएएफको पत्रपछि संघले चैत २४ गते साधारण सभा गर्ने निर्णय गरेको अध्यक्ष शाहले बताएका छन्। उनले निलम्बनबाट बच्न निर्वाचन गराउनु पर्ने बाध्यता रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।