काठमाडौं- उर्जा,जलस्रोत सिंचाईमन्त्री वर्षमान पुनले आफू पार्टी र रोल्पाको मात्र नभएको बताएका छन्। ऊर्जा मन्त्रालयको दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले आफूले देशलाई नै केन्द्रमा राखेर काम गरेको बताएका हुन्।
बैठकको अध्यक्ष समेत रहनुभएका उर्जा,जलस्रोत सिंचाईमन्त्री वर्षमान पुनले मंगलबार सरकारको प्राथमिकताका आधारमा मन्त्रालय अन्तर्गतका काम अघि बढ्नुपर्ने बताएका हुन्।
उनले विगतको जस्तो हचुवाको भरमा योजना छनौट गर्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने भन्दै सरकारको प्राथमिकता र मन्त्रालयले जारी गरेको स्वेतपत्रअनुसार नै काम अघि बढाउन निर्देशन दिएका हुन्।
‘अबदेखी हुचवाको भरमा काम नगर्नुहोला,विगतमा मन्त्री,सांसद,सचिव र उच्च अधिकारीका आ-आफ्ना स्वार्थहरु थिए होला तर, अब त्यो हुँदैन, अव योजना छनौट गर्दा प्राथमिकता र मन्त्रालयको योजनाअनुसार हुन्छ,’ मन्त्री पुनले समीक्षा वैठकमा भने।
आयोजना छनौट गर्दा दबाव दिने प्रवृत्ति निरुत्साहित गरेर अघि बढ्न निर्देशन समेत दिएका थिए। पुर्व अर्थमन्त्री समेत रहेका उर्जामन्त्री पुनले विनियोजित बजेट शतप्रतिशत नै खर्च हुनुपर्ने धारणा राखे।
मन्त्री पुनले प्रधानमन्त्री, मन्त्री र सरकारको प्राथमिकतालाई ख्याल गरेर परिणाममुखी काम गर्न समेत निर्देशन दिए। भेरी बबई, सिंक्टा र रानीजमरालगायतका राष्ट्रिय गौरवका आयोजनाका प्रमुखलाई प्रतिबद्धता गरेअनुसार समयमै काम गरेर देखाउन मन्त्री पुनले सचेत गराएका थिए।
‘तपाईहरुले मन्त्रालयलाई प्रतिवद्धता जनाएअनुसार काम गरेर देखाउनुहोस्, मैले प्रधानमन्त्रीलाई पनि जवाफ दिनुपर्छ, मलाई जसरी पनि परिणाम चाहिन्छ,’ मन्त्री पुनको भनाइ थियो।
प्राधिकरण मातहतका कम्पनीको अवस्था के छ ?
उर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरण मातहतका कम्पनीको अवस्थाको बारेमा समेत जानकारी माग गरेका छन्। प्राधिकरण मातहत धेरै कम्पनी रहेको भन्दै त्यसको प्रगति र समस्याको रिपोर्टिंग आफूलाई नियमित हुनुपर्ने बताए।
‘प्राधिकरण मातहतका कम्पनी धैरै भए, कम्पनीका पनि कम्पनी छन्। तिनको अवस्था के छ, कहां कहा लगानी छ,शेयरको अवस्था के छ त्यसको जानकारी हुनुपर्यो,’ मन्त्री पुनले बैठकमा भने, 'माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा लगानी थप्नेबारे पहल भइरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।