जनकपुरधाम- जनकपुर बम काण्डमा जिल्ला अदालत धनुषाले अन्तिम सुनवाइ जारी रहेको छ। आइतबारदेखि सुरु भएको सुनवाइ बिहिबारसम्म सकिने सम्भावना रहेको बताइएको छ।
जनकपुर बम काण्डमा मुख्य अभियुक्त भनिएका संजय साह टक्ला पाँच वर्षदेखि पूर्पक्षका लागि थुनामा रहेका छन्।
जनकपुरको रामानन्द चौकमा भएको बम काण्डमा परी ५ जनाको हत्या तथा करिब ४० जना घाईते भएका मुद्दा र जनकपुरका संचार उद्यमी अरुण कुमार सिंघानियाको हत्या गरेको अभियोगमा साह अहिले काठमाण्डौ स्थित कारागारमा मुद्दाको पुर्पक्षको लागि थुनामा छन्।
यसका अतिरिक्त हातहतियार तथा खरखजाना र केही सार्वजनिक अपराध मुद्दामा २१ महिनाको कैद सजाय समेत भुक्तान गरिसकेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साह माथि साढे २१ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। त्यसैगरी सम्पति शुद्धिकरण अनुसन्धान विभागले पनि साहको सम्पति विषयमा अनुसन्धान गरिरहेको अवस्था छ।
को हुन् संजय टक्ला?
२०६४साल चैत्र २८ मा सम्पन्न भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषाको क्षेत्र नं. ४ बाट संजय साह उर्फ संजय टक्ला पहिलो पटक निर्वाचित भएका थिए।
जनकपुरमा ‘डन’को छवि बनाएका साहले सभासदमा निर्वाचित भएपछि स्वचालित बन्दुकबाट तीन राउण्ड फायर गर्दै खुसी मनाएका थिए। विद्यर्थी जीवनबाटै ‘डन’का रुपमा परिचित उनलाई जनकपुरतिर ‘संजय टकला’ उपनाम समेत चिनिन्छ। ठेक्कापट्टाबाट मनग्गे कमाएका उनी पैसा भएकै कारण टिकट किनेर संविधानसभा निर्वाचनको केही दिनअघि मात्र फोरममा प्रवेश गरेका थिए।
मधेसी जनअधिकार फोरम नेपालको टिकट पाएर प्रत्यक्ष निर्वाचनमा संजय कुमार साहले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका थिए। उक्त निर्वाचनमा साहले नेकपा एमालेका नेता रघुवीर महासेठलाई पराजित गरेका थिए। महासेठले ९ हजार २ सय ८२ मत मात्र प्राप्त गर्न सकेका थिए।
त्यसैगरी २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा धनुषाको क्षेत्र नं. ४ बाट संजय कुमार साहले १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका थिए। सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्षसमेत रहेका साह निर्वाचित भएका थिए। साहले नेपाली कांग्रेसका धनुषा सभापति तथा पुर्व सभाषद रामसरोज यादवलाई पराजित गरेका थिए। साह नै त्यस्तो नेता बन्न सफल भए जो कि जनकपुर क्षेत्रमा लगातार दुई पटक निर्वाचन जित्न सफल भएका थिए। त्यस अघिसम्म जनकपुरमा कुनै पनि नेताले लगातार दुई पटकसम्म जित्न सफल भएको इतिहास छैन।
साहमाथिका मुद्दा तथा सजाय
दुई पटक सभासद तथा एक पटक भौतिक पुर्वाधार राज्यमन्त्री समेत भईसकेका संजय साह हातहतियार तथा खरखजाना मुद्दा र केही सार्वजनिक अपराध मुद्दामा २१ महिनाको कैद सजाय भुक्तान गरिसकेका छन्।
जिल्ला प्रशासन कार्यालय धनुषा, पुनरावेदन अदालत जनकपुर र सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा अन्तिम फैसला भई कसुरवार ठहर भएका साहले अन्य मुद्दामा थुनामा कारागारमा रहेका हुँदा उक्त कैद सजाय साहले भुक्तान गरिसकेका छन्।
३ जेठ २०६० मा धनुषाको सखुवा महेन्द्रनगरमा हातहतियार देखाई स्थानीय व्यक्तिहरुलाई लुटपाट गर्न खोजेको भन्दै रामजीवनप्रसाद गुप्ताले दिएको जाहेरी पछि संजय साहलाई जिल्ला प्रशासन कार्यालय धनुषाले सजाय र जरिवाना गरेको थियो।
गुप्ताको जाहेरीमा संजय कुमार साह, उमाशंकर अरगरिया, संतोष कुमार साह, शम्भु यादव, विनोद यादव, रामबाबु भनिने विन्देश्वर साह, राज कुमार पुर्वे, श्याम शर्मा, धर्मेन्द्र पाठक, अनिल भनिने निर्मल कुमार सिंह, ओम प्रकाश यादवलाई प्रतिवादी बनाई हातहतियार तथा खरखजाना र सार्वजनिक अपराधको मुद्दा चलाइएको थियो।
प्रहरी प्रतिवेदन अनुसार हातहतियार र खुकुरी समेत बोकी हो हल्ला गरी हिँडेको अवस्थामा खान तलासी गर्दा संजय साहको साथबाट खुकुरी थान १, कक भएको नाइन एमएम ११ राउण्ड लेखेको नम्बर १७४० लेखेको पेस्तोल थान १ गोली लोड भएको अवस्था बरामद गरिएको तत्कालीन प्रहरी निरीक्षक मोहन कुमार शेर्पाको प्रतिवेदनमा उल्लेख छ।
सोही मुद्दामा धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रेवतीराज काफ्लेले ३० अषाढ २०६१ मा संजय साहलाई १ वर्ष ९ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। उक्त फैसलाका विरुद्ध पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गर्दा न्यायाधिशद्वय गिरीराज पौडयाल र भोला प्रसाद खरेलको संयुक्त इजलासले ३० जेठ २०६३ मा जिल्ला प्रशासन कार्यालय धनुषाको फैसलालाई सदर गर्दै सफाइ पाउनु पर्ने पुनरावेदकको निवेदन निरर्थक भएको फैसला गरेको थियो।
त्यसपछि सोही निर्णय विरुद्ध सर्वोच्च अदालतमा २०६८ सालमा फैसला बाझिएको थियो। सर्वोच्च अदालतका स्थायी न्यायाधिश अवधेष कुमार यादवले पुनरावेदन अदालतको फैसलालाई सदर गरेको थियो भने अस्थायी न्यायाधिश कमल नरायण साहले प्रतिवादी संजय साह निर्दोष रहेको भनी पुनरावेदन अदालतको निर्णय विपरित राय बझाएको थियो। पछि सर्बोच्चले पनि पुनरावेदन अदालतको फैसलालाई नै सदर गरेको थियो।
जनकपुर बम काण्डका मुख्य अभियुक्त साह
१८ बैशाख २०६९ मा जनकपुरको रामानन्द चौकमा मिथिला राज्य संघर्ष समितिले पुर्व निर्धारित कार्यक्रम अनुसार सडकमा धर्ना दिई विरोध प्रदर्शन गरिरहेका थिए। मधेसकेन्द्रित दलहरु सम्मिलित संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा समग्र मधेस एक स्वायत्त प्रदेशको अडान राखिरहेका बेला आफ्नो ऐतिहासिक पहिचान गुम्ने भन्दै मिथिला राज्य संघर्ष समितिले मिथिला राज्य माग गरिरहेका थिए।
शान्तिपुर्वक धर्नामा बसेका बेला अचानक शक्तिशाली बम विष्फोटन गराइयो। विष्फोटनमा परि जनकपुर नगरपालिका १० बस्ने झगरुलाल दास कथबनिया(४०), जनकपुर ८ बस्ने विमल शरण(४०), महोत्तरी बथनाहा ९ तथा हाल जनकपुर बस्ने रंजु देवी झा(४०), जनकपुर ८ बस्ने सुरेश उपाध्याय(४५) र दिपेन्द्र दास(३५) गरी कुल पाँच जनाको ज्यान गएको थियो।
विष्फोटमा परेर करिब ४० जना घाइते भएका थिए। उक्त बम काण्डमा अन्य विभिन्न अभियूक्तहरुसँगसँगै संजय साहलाई पनि प्रमुख अभियूक्त बनाइएको छ।
संचार उद्यमी अरुण सिंघानिया हत्याका पनि अभियूक्त साह नै
१७ फागुन २०६६ मा जनकपुरका व्यवसायी तथा संचार उद्यमी अरुण कुमार सिंघानियाको गोली हानी हत्या गरिएको थियो।
फागु पुर्णिमा अर्थात् होलीकै दिन सिंघानियालाई जनकपुरको शिवचौकमा गोली हानी हत्या गरिएको थियो।
उक्त हत्याको अभियोगमा अन्य विभिन्न अभियूक्तसँगसँगै संजय साहलाई पनि अभियूक्त बनाइएको छ।
उक्त मुद्दामा पनि साहलाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको छ। उक्त मुद्दामा पनि हालसम्म फैसला हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।