जनकपुर- महोत्तरीको बर्दिबासस्थित रातु खोलामा मापदण्ड विपरीत नदिजन्य पदार्थको उत्खनन भएपनि नियामक निकायको जिम्मेवारी पाएको नगरपालिका भने व्यापारीकै पक्षमा लागेर नियन्त्रण गर्न आनाकानी गरेको छ।
नदिजन्य पदार्थमा व्यापारीको अत्यधिक अतिक्रमण हुन थालेपछि स्थानीयबासी भने आन्दोलित भएका छन्। एक महिनाअघि पनि जनदबाबपछि रोकिएको नदी दोहन पछिल्लो समय फेरी सुरु भएपछि स्थानीयबासी आन्दोलनमा होमिएका हुन्।
स्थानीयबासीले मापदण्ड विपरीत खोलाबाट बालुवागिट्टी निकाल्न प्रयोग गरिएका जेसिबी, एस्काभेटर, टिपर ३० बढी उपकरण नियन्त्रणमा लिएका छन्।
स्थानीय र व्यापारीबीच विवाद भएपछि व्यापारीका उपकरण स्थानीयले नियन्त्रणमा लिएपछि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली रातु खोला पुगेको छ।
'मापदण्ड विपरित खोला खनिएको स्थानीयको गुनासो छ,' डीएसपी निशान्त थापाले भने, 'यस सम्धन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।'
बर्दिबास नगरपालिकाले चारवटा प्याकेजमा रातु खोलाको ठेक्का लगाएको छ। वातावरण परिक्षण रिपोर्ट अनुसार तीन फिट खनेर मात्रै बालुवा गिट्टी झिक्नु पर्ने हो। तर, ठेकेदारले राति १० फिटसम्म खनेर नदीजन्य समाग्रीको ढुवानी गरिरहेको किसान नगरका कांग्रेस नेता विन्देश्वर साहले जनाए।
'खोला उत्खन्नमा चरम लापरबाही भइरहेको छ। जनप्रतिनिधिले खासै मतलब राखेको छैन,' नेता साहले भने, 'रातभरी खोला खनेर ढुवानी गरिने टिपरको आवाजले स्थानीय सुत्न सकेका छैनन्।'
खोलाको दोहोन रोक्न साताअघि बर्दिबास नगरपालिकालाई स्थानीयले जानकारी गराएका थिए। तर, नगरपालिकाले वास्ता नगरेपछि स्थानीय त्यसको विरोधमा उत्रिएका हुन्।
बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्कीले ठेकेदारले तीन फिटभन्दा गहिरो कुनैपनि हालतमा खन्न नपाउने बताए। उनले भने, 'मापदण्ड मिच्नेलाई कारवाही हुन्छ।' अबैध उत्खनन् रोक्ने जिम्मेवारी जिल्ला समन्वय समितिको हो। तर, उसले गरेको अनुगमन प्रभावकारी नभएको स्थानीय बताउँछन्।
पहिले जिल्ला विकास समितिले रातु नदी ठेक्का लगाउने गरेको थियो। चालू आर्थिक वर्ष २०७५/०७६ बाट खोलाको ठेक्का लगाउने जिम्मा स्थानीय सरकारको मातहतमा आएको छ।
चालु आर्थिक वर्षका लागि किसानगरदेखि पथलैयासम्मको पाँच हजार एक सय ७३ मिटर दूरीबाट नदीजन्य समाग्री निकाल्न बर्दिबास नगरपालिकाले खोलाको ठेक्का लगाएको हो। उसले भ्याट बाहेक पाँच कारोड २९ लाखमा रातु खोलाको ठेक्का लगाएको छ।
ठेक्का अनुसार जेष्ठ मस्तान्त भित्रमा ठेकेदार कम्पनीले खोलाबाट, बालुवा, गिट्टी, ढुङ्गा झिक्न पाउने सम्झौतामा उल्लेख छ। किसानगर, जुरेटोल, फूलबारीटोल र पथलैया गरि चार सेक्सनबाट जम्मा तीन लाख २४ हजार घनमिटर नदीजन्य समाग्री मात्र निकाल्न उपयुक्त रहेको वातावरण परीक्षा रिपोर्टले देखाएको छ।
रातु खोलाको किसाननगर र जुरेटोल खण्ड कमलामाई बालुवा गिट्टी प्रसोधन केन्द्र कर्जन्हा सिरहाले ठेक्का लिएको छ। उसले दुवै खण्ड २ करोड २९ लाखमा ठेक्का लिएको हो।त्यसैगरी फूलबारीटोल र पथलैया खण्डको ठैक्का व्याहुत निर्माण सेवा जलेश्वर, महोत्तरीले जम्मा तीन करोडमा पाएका हुन् ।खोलाको ठेक्काबाट आएको जम्मा आम्दानीको ४० प्रतिशत प्रदेश सरकारको खातामा जाने छन् भने ६० प्रतिशत स्थानीय सरकारले पाउने छन्।
ठेकेदारको बदमासी र सरोकारवला निकायको फितलो अनुगमनले मापदण्ड विपरित उत्खन्न भइरहेको छ।दशक अघिदेखि हुँदै आएको नदीको दोहोन यथावत छ। ठेक्केदारको कमाउ धन्दाले सरोकारवालालाई समेत प्रभाव पारिएकाले रातु खोलामा जथाभावी नदी दोहन हुने क्रम फेरि दोहोरिएको हो। जथाभावी दोहोनले बर्सेपिच्छे खोलाले बहाव फेरिँदै आएको छ।
बर्दिबास, किसाननगर, पशुपतिनगर, भंगहा, हत्तिसर्वाका हजारौं किसानको सयौं बिघा जग्गा कटान गरेर बगर बनाइदिएको छ। खेतीयोग्य जमीन खोलाले निलेपछि किसान विदेसिएका छन्। विदेशको कमाइले अन्न किनेर खान बाध्य भएको पशुपतिनगरका किसान अनिलकुमार महतोले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।