नेपालगञ्ज- साउन अन्तिम साताको अविरल वर्षापछि आएको बाढीका कारण बाँकेको करिब ३० प्रतिशत भूभाग डुबानमा पर्यो। राप्ती र डुडुवाको बाढीले स्थानीय थप प्रभावित बने।
प्रशासन प्रमुख नहुँदा राहत र उद्धार कार्य समयमै हुन सकेन । बाढीपीडित झन् बिचल्लीमा परे । बाँके प्रशासन प्रमुखविहीन थियो भने बाढी र विपदका लागि राखिएको नेपाली सेनाको हेलिकोप्टर सुर्खेत पठाइएको थियो। प्रमुखको अभावमा बाढीपछि हुने मानवीय तथा भौतिक क्षतिलाई कसरी कम गर्ने भन्ने ठोस योजना बन्न सकेन । सुर्खेतमा रहेको हेलिकोप्टर पनि प्रतिकूल मौसमका कारण समयमै नेपालगन्ज आउन नसक्दा प्रशासनका कर्मचारी थप तनावमा रहे।
ढिलो गरेर हेलिकोप्टर त आयो तर बाढी प्रभावितलाई तत्काल उपलब्ध गराउन स्थानीय प्रशासनसँग ड्राइफुडसम्म थिएन । हेलिकोप्टरबाटै ड्राइफुड र शुद्ध पिउने पानी वितरण गर्ने तथा जोखिमपूर्ण स्थानमा रहेका बासिन्दाको उद्धार गर्ने योजना बन्यो । एक ट्रिप ड्राइफुड र पानी जुटाउनै स्थानीय प्रशासनलाई झन्डै ४ घन्टा लाग्यो।
करिब ९४ हजार मानिस बाढी र डुबानबाट प्रभावित थिए। घरले च्यापिएका ३ बालिकाको समेत समयमै उद्धार हुन नसक्दा ज्यान गयो । बल्लतल्ल जुटाइइको खाद्यसामग्री कहाँ कसलाई दिने भन्ने अन्योल देखियो।
उद्धार र सामग्रीका लागि तालिमप्राप्त सैनिक लिएर हेलिकोप्टर उड्यो । क्याप्टेन सहितको उडान टोलीसँग राहत सामग्री पुर्यािउने र जोखिममा रहेका मानिसको उद्धार गर्नुपर्ने स्थानको भरपर्दो सूचना समेत थिएन । जसका कारण निक्कै समस्या आइलाग्यो। जताततै पानी नै पानी भएकाले हेलिकोप्टर ल्यान्ड गर्ने स्थानको अभाव थियो।
स्थानीय बासिन्दाहरु राहत र उद्धारका लागि आग्रह गर्दै स्थानीय प्रशासन र आफ्ना जनप्रतिनिधिलाई बारम्बार फोन गरिरहेका थिए । आकाशमा हेलिकोप्टर उडेको देखेपछि उत्साहित भएका बाढी प्रभावितमध्ये अधिकांशले न त राहत पाउन सके न सेनाको टोलीले सहजै उद्धार गर्न सक्यो।
सेनाको टोलीले निक्कै जोखिम मोलेर जमिनदेखि ५-७ मिटर माथि आकाशमै हेलिकोप्टर होल्ड गरेर ५ सय ४६ जना बाढी प्रभावित महिला, बालबालिका र वृद्धवृद्धाको उद्धार गर्यो।
भिआइपीको 'निरीक्षण'ले उद्धार प्रभावित
जब उद्धार र राहतले गति लिन थालेको थियो, त्यही बेला भिआइपीको भ्रमण सुरु भयो । उद्धारमा सक्रिय हेलिकोप्टर प्रधानमन्त्री, मन्त्री र भिआइपीलाई बाढी प्रभावित क्षेत्रको हवाइ निरीक्षण गराउनतिर लाग्यो।
सेनासँग रहेको एउटा हेलिकोप्टर बाढीपीडितको उद्धार र राहतमा भन्दा भिआइपीको भ्रमणमा बढी व्यस्त भयो । दलका नेता तथा जनप्रतिनिधिहरुले हेलिकोप्टरबाट बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने व्यवस्था मिलाइदिन प्रशासनलाई तीव्र दबाब दिए।
हेलिकोप्टरमा एक भिआइपी कम हुँदा सय केजी राहत सामग्री पुर्याउन सकिने जोखिममा परेका एक मानिसलाई उद्धार गर्न सकिने प्रशासनका अधिकारीहरु बताइरहेका थिए । मन्त्री र उनका सहयोगी भने हेलिकोप्टरबाट निरीक्षण गर्न नपाएको भन्दै प्रशासनमाथि खनिए।
राहत र उद्धारमा खटिनुपर्ने स्थानीय प्रशासन मन्त्रीको स्वागत र उनका सहयोगीका लागि राम्रो गाडी र खानपिनको व्यवस्था मिलाउनमै व्यस्त देखिए । स्वागतमै सिडिओ र एसपी सहित सयौं कार्यकर्ता एयरपोर्टसम्मै आऊन् भन्ने चाहना मन्त्री र उनका सहयोगीहरुमा देखियो । बाढी प्रभावितको राहत र उद्धारभन्दा प्रधानमन्त्री, मन्त्री र नेताको चाकडीमा कर्मचारी र दलका कार्यकर्ता असिनपसिन भई खटिएका देखिन्थे।
बाढीपीडितको राहत र उद्धारमा व्यस्त बाँकेका प्रजिअ रमेश केसीलाई त भूमिसुधार मन्त्री गोपाल दहितले झन्डायुक्त सुविधासम्पन्न गाडीको व्यवस्था नगरेको भन्दै तल्लै स्तरमा उत्रिएर थर्काए।
एक दिनमा ६ जनासम्म भिआइपी आउन थालेपछि उनीहरुका लागि गाडी र स्कर्टिङको व्यवस्था मिलाउन प्रशासनलाई हम्मेहम्मे पर्यो।
अत्यावश्यक र गर्नैपर्ने काम बाढीपीडितहरुको राहत र उद्धार भए पनि मन्त्री तथा भिआइपीको स्वागत गाडी तथा खानपानको व्यवस्था मिलाउन स्थानीय प्रशासन केन्द्रित भएपछि पीडितहरुको समयमै उद्धार हुन सकेन।
साउन २८ देखि भदौ १२ सम्म आएका भिआइपीहरु
— पूर्वप्रधानमन्त्री झलनाथ खनाल
— गृहमन्त्री जर्नादन शर्मा, गृहसचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख
— सिँचाइ मन्त्री सञ्जय गौतम, भूमिसुधार मन्त्री गोपाल दहित, पशुपंक्षी विकास मन्त्री सन्तकुमार चौधरी
— प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति राजेन्द्र खत्री
— पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमन्त्री नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, शक्ति बस्नेत, सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, पशुपंक्षी विकास राज्यमन्त्री गोमा कुँवर
— श्रम राज्यमन्त्री डिल्ली चौधरी
— सिँचाइ राज्यमन्त्री अमरसिंह पुन
— ऊर्जामन्त्री महेन्द्रबहादुर शाही
— युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।