काठमाडौं- सरकारी रकम खर्चेर सत्तारुढ दल नेकपाका नेताहरु हिमाल आरोहणका लागि प्रस्थान गरेका छन्। प्रदेश सरकार र स्थानीय तहको रकममा सिन्धुपाल्चोक जुगल गाउँपालिकाको ‘भर्जिन’ हिमाल आरोहणका लागि नेकपाका केन्द्रीय सदस्यसहितको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ।
आरोहणका लागि झण्डै १ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सबै खर्च सरकारी कोषबाट खर्च गरिने छ। प्रदेश तीन सरकारले तत्काललाई ५० लाख रुपैयाँ व्यवस्थापन गरेको छ भने अपुग रुपैयाँ दिने शर्तमा टोली आरोहणका लागि गएको छ। प्रदेश तीनका उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले सो रकम व्यवस्थापन गरेको हो। यस्तै गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्षसमेत रहेका होमनारायण श्रेष्ठले आरोहणका लागि गाउँपालिकाको कोषबाट दश लाख रुपैयाँ दिएका छन्। दुर्गम भेगमा पर्ने जुगल गाउँपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था नाजुक छ।
आरोहणको नेतृत्व नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’ले गरेका छन्। टोलीमा नेकपाका प्रदेश सदस्य सुभाष कर्माचार्य, नेकपाका कार्यकर्ता मिलन लामा, माया गुरुङलगायत छन्। आरोहण गर्न जाने टोलीलाई बिहीबार प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्री अरुण नेपाललगायतले विदाई गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।