फुटबल मैदानमा प्रशिक्षकको दिमाग र खेलाडीको खुट्टा चल्यो भने सकारात्मक नतिजा निस्कन्छ। तर, खेलाडीले रणनीतिअनुसार खेल्न सकेनन् भने प्रशिक्षकको भूमिका दर्शक जस्तै हुन्छ, खेल विपक्षीको हातमा जान्छ।
मंगलबार ताजकिस्तानविरुद्धको खेल पनि नेपालका लागि ठ्याक्कै यस्तै रहयो। पहिलो हाफमा नेपाली खेलाडीले प्रशिक्षकको रणनीतिअनुसार खेल्न नसक्दा २–१ गोलले हार स्विकार्नु पर्यो।
नेपालका जापानी प्रशिक्षक ग्योतोकु कोजीले मिडफिल्डमा अन्जन बिष्ट, सुजल श्रेष्ठ, रोहित चन्द र विशाल राईलाई पहिलो रोजाइमा उतारेका थिए। चारै खेलाडीको भूमिका थियो, स्ट्राइकरद्वय भरत खवास र नवयुग श्रेष्ठलाई ‘अट्याकिङ थर्ड’ मा बल उपलब्ध गराउने। तर, रोहितबाहेक तीन मिडफिल्डरले आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन्। पहिलो हाफमा नेपाली मिडफिल्डरले एउटा पनि पास विपक्षीको डिक्समा उपलब्ध गराउन सकेनन्।
नेपाली मिडफिल्डरले पहिलो हाफमा धेरै ‘मिस पास’ खेले। मिडफिल्डमा बल ‘होल्ड’ गरेर राखे पनि विपक्षी ताजक टोलीलाई दबाब महसुस हुने गरी गतिलो पास निकाल्न सकेनन्। एसिया कप–२०१९ को छनोटअन्तर्गत मंगलबार नेपाली खेलाडीले पराजय स्विकार्नुको प्रमुख कारण यसैको सेरोफेरोमा घुम्छ। न हाम्रा मिडफिल्डरले स्ट्राइकरलाई गोलका लागि राम्रो बल निकाल्न सके, न आवश्यक परेको बेला डिफेन्डरलाई तल झरेर रचनात्मक सहयोग नै गरे।
मिडफिल्ड जस्तै पहिलो हाफमा नेपाली स्ट्राइकर पोजिसनमा बसेर खेलिरहेका थिएनन्। स्ट्राइकरले राम्रोसँग संवाद गर्न नसक्दा मिडफिल्डबाट अगाडि बढेको केही बल त्यतिकै खेर गयो। नेपालको तुलनामा ताजकिस्तानले विपक्षी पोस्टमा बढी बल खेलायो। खेल अविधिभर ताजकिस्तानले ९ वटा कर्नर प्रहार गर्ने अवसर पाएको थियो। नेपालले मात्र २ पटक कर्नर पायो।
ताजकिस्तान पहिलो हाफमा उत्कृष्ट खेल पस्किन सफल भयो। उनीहरुले सुरुदेखि नै नेपालको मिडफिल्डमा धावा बोले। कसैलाई जमेर खेल्न दिएनन्। नेपाली गोल पोस्टमा दबाब दिन सफल भए। जसको सानो उदाहरण, पहिलो हाफमा ताजकिस्तानले गरेको पाँचमध्ये दुई प्रहार गोलमा परिणत हुनु पनि हो। दुई वटा प्रहार नेपाली गोलरक्षक किरणकुमार लिम्बुले बिफल पारे।
ताजकिस्तानले गरेका दुबै गोल नेपाली डिफेन्डर खेलाडीबीच तालमेल नमिल्दा खान पुग्यो। मैदानमा आपसी सहयोग नहुँदा नेपालले ४ मिनेटभित्र दुई गोल खायो। र दुवै गोल डिबक्स भित्रबाट भएका थिए। ताजकिस्तानले २६ मिनेटमा पाएको कर्नर प्रहारलाई नेपाली खेलाडीले राम्रोसँग बुझ्नै सकेनन्। ताजकिस्तानका डिजालिलोभ मेनुचेरलाई नेपाली डिबक्सको ६ यार्ड भित्र ‘मार्किङ’ नभएको अवस्थाको फाइदा उठाउँदै गोल गरे।
दोस्रो गोल पनि ३० मिनेटमा डिफेन्डरकै गल्तीले भयो। ताजकिस्तानका भ्यासिद दिलसुदले डिबक्स भित्रबाटै प्रहार गरेर गोल गरे।
‘फरवार्डले दुई तीन पटक गल्ती गर्दा पनि टोलीलाई धेरै असर पर्दैन,’ नेपालको खेल हेर्न सातदोबाटो पुगेका फुटबल प्रशिक्षक सुनिल श्रेष्ठ भन्छन्, ‘तर डिफेन्डरले गरेको एक गल्तीको मूल्य भयंकर हुन्छ, दुबै गोल हाम्रो डिफेन्डरको गल्तीका कारण भयो।’
पहिलो हाफमा नेपालका स्टार स्ट्राइकर नवयुग श्रेष्ठको स्थानमा विमल घर्ती मगरलाई प्रवेश गराइएको थियो। दोस्रो हाफमा अर्का अनुभवी स्ट्राइकर भरत खवासलाई हटाएर विक्रम लामा मैदानमा छिरे। यसपछि भने नेपालको खेलमा केही सुधार देखियो। यसैको प्रभावस्वरुप विमलले ६१ मिनेटमा गोल गरे। अझ, ६३ मिनेटमा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका जर्जप्रिन्स कार्कीको आगमनपछि नेपालले लगातार दबाब बनायो। तर पनि नेपाली फरवार्डलाई सटिक पास उपलब्ध गराउन मिडफिल्डर चुके।
पहिलो हाफमै दुई गोल खाएपछि दबाबमा खेल्नु नेपालको अर्काे कमजोरी रह्यो।नेपाली टोली कुनैबेला पनि एक ठिक्का देखिएन। खेलाडीबीच आपसी संवादको कमजोरी देखियो।
नेपालका जापानी प्रशिक्षक ग्योतोकु कोजी पनि मंगलबारको खेलबाट खुसी थिएनन्। उनले पनि आफ्ना खेलाडीले रणनीतिअनुसार खेल्न नसकेको स्विकार गरे। ‘मैले जुन रणनीतिका साथ खेलाडीलाई मैदानमा उतारेको थिए, त्यो लागु भएन’ कोजीले भने।
महत्वपूर्ण मानिएको खेलमा पराजित भएपछि नेपालको एसिया कपमा छनोट हुने संभावना कठिन बनेको छ। समूहमा पहिलो चरणको तीन खेल सकिदा नेपाल समूहको पुछारमा धकेलिएको छ। यमनसँग गोलरहित बराबरी खेल्दै नेपालले एक अंक जोडेको थियो। शीर्ष स्थानको फिलिपिन्सको ७ अंक छ भने दोस्रो स्थानको यमनले ५ अंक जोडेको छ। मंगलबार नै भएको खेलमा फिलिपिन्स र यमनले २–२ गोलको बराबरी खेले। नेपाललाई पराजित गरेको ताजकिस्तान ३ अंक जोडेर अंक तालिकाको तेस्र्रो स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।