काठमाडौं- प्रहरीले राजधानीबाट बरामद गरेको ८८ केजी सुनसँग जोडिएका थप दुई जनालाई पक्राउ गरेको छ। सुन तस्करीका लागि प्रयोग भएको टाटा स्ट्रोम गाडीलाई रसुवाबाट केरुङ लैजाने र केरुङबाट रसुवा हुँदै काठमाडौं ल्याउने चालक पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रसुवाले केरुङ नाकाको रेकर्ड अनुसार खाली गाडी केरुङ लैजाने दाम्पा तामाङ र सुन लोड गराएर रसुवा ल्याउने दिलीप खड्कालाई पक्राउ गरेको हो। रसुवा प्रहरी प्रमुख डिएसपी शरद थापा क्षेत्रीले प्रहरी रेकर्डमा गाडी लैजाने र ल्याउने दुई जनालाई पक्राउ गरेको जानकारी दिए। रसुवाबाट केरुङ नाकासम्म खाली गाडी लैजाने र सुन लोड गरी रसुवा ल्याउने जिम्मेवारी पाएको गिरोहको प्रहरीले पहिचान गरेको हो।
सोमबार बिहान काठमाडौं क्षेत्रपाटीबाट ८८ किलो सुनसहित चालक मनोज अधिकारीलाई पक्राउ गरिसकेको छ। बरामद बा१७च ६४२७ नम्बरको गाडी सिप्रदी ट्रेडिङमा चालक श्याम महर्जनका नाममा दर्ता रहेको पाइएको छ।
डिएसपी क्षेत्रीले महानगरीय अपराध महाशाखासँगको सहकार्यमा स्थानीय तहमा तस्करीमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको बताउँदै प्रहरी उनीहरु नजिक पुगेको बताए। ‘हामीले महाशाखासँगको सहकार्यमा काम गरिरहेका छौं,' उनले भने, 'थप दुई चालक पक्राउ परेका छन्, चिनियाँ र नेपाली गिरोहमा संलग्न पनि चाँडै पक्राउ पर्नेछन्।’
महाशाखाको क्षेत्रपाटीबाट बरामद गरेको सुनका मालिक चिनियाँ दम्पत्ती याङ वेन विङ र उनका पति पान विई मिङ भएको खुलेको थियो। ठमेलस्थित काठमाडौं वन होटल सञ्चालन गरेका ती दम्पत्ती चीनबाट नेपाल सुन ल्याउने र भण्डार गर्नेसम्मको जिम्मेवारी पाएका कारोबारी हुन्। उनीहरुले भारत तस्करीका लागि तयारी अवस्थामा राखेको सुन विशेष सुराकीका आधारमा बरामद भएको प्रहरीले बताएको छ।
गाडीको विभिन्न पार्टपुर्जामा कालो टेपले बेरेर लुकाइएका एक केजी दरका ८८ थान सुनका बिस्कुट बरामद भएको हो। महाशाखाका अनुसार बरामद सुनको बजार मूल्य ४३ करोड रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।