जेदाह– महत्वपूर्ण खेलमा जापानलाई १–० ले पराजित गर्दै साउदी अरेबिया विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि छनोट भएको छ। एसिया छनोटको समूह ‘बी’ मा रहेको साउदीले घरेलु मैदानमा फाहद अल मुआल्लाडको गोलले विजय प्राप्त गर्यो। उनले ६३औं मिनेटमा गोल गरेका थिए।
जितसँगै साउदी अरेबियाले समूहमा दोस्रो स्थान पक्का गर्दै १९ अंक जोडेको छ। २० अंक जोडेर शीर्षस्थानमा रहेको जापानले यसअघि नै रुसमा आयोजना हुने विश्व कपको टिकट पक्का गरिसकेको छ। साउदी अरेबियासँग समान १९ अंक जोडेको अस्ट्रेलिया गोलअन्तरमा पछि पर्दै तेस्रो स्थानमा सीमित भएको छ। अन्तिम चरणको खेलमा थाइल्यान्डलाई २–१ ले हराएको अस्ट्रेलियाको ‘प्लेअफ’ मार्फत विश्वकप खेल्ने सम्भावना बाँकी छ।
अन्तिम खेलमा उज्वेकिस्तानसँग गोलरहित बराबरी खेलेको दक्षिण कोरियाले पनि विश्वकपमा स्थान पक्का गरेको छ। समूह ‘ए’ मा १५ अंक जोड्दै दोस्रो स्थानमा रहेर कोरियाले रुसको टिकट पक्का गरेको हो। २२ अंक जोडेर शीर्षस्थानमा रहेको इरानले यसअघि नै विश्व कपमा स्थान बनाइसकेको छ।
अन्तिम खेलमा इरानलाई २–२ को बराबरीमा रोकेको युद्धग्रस्त मुलुक सिरियाले समूह ‘ए’ मा तेस्रो स्थान बनाउँदा पहिलो पटक ‘प्लेअफ’ का लागि आफ्नो स्थान सुरक्षित राखेको छ।
१३औं मिनेटमा मोहमदले गोल गरेर सिरियालाई अग्रता दिलाए। तर, इरानका लागि सरदार अजमोनले ४५औं र ६४औं मिनेटमा गोल गरेपछि खेलमा फर्कियो।
दोस्रो हाफको इन्जुरी टाइममा ओमर अल समाले गोल गर्दै सिरियालाई पुनः खेलमा फर्काए। तेस्रो स्थानमा रहेको सिरियाले १३ अंक जोडेको छ। सिरियाले समान १३ अंक जोडेको उज्वेकिस्तानलाई गोलअन्तरमा पछि पारेर ‘प्लेअफ’ मा स्थान बनाएको हो।
एसियाबाट इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबियाले विश्व कपमा स्थान पक्का गरेका छन्। अस्ट्रेलिया र सिरिया मध्ये एक टोलीको ‘प्लेअफ’ मार्फत विश्व कपमा छनोट हुने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।