भान्डुज– फिफा विश्वकप २०१८ को छनोटअन्तर्गत युरोपतर्फको खेलमा स्पेनले लिच्टेन्टाइनलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ।
समूह ‘जी’ तर्फको खेलमा स्पेनलाई जित दिलाउन अल्भारो मोराटाले १५ र ५४, इयागो अस्पासले ५१ र ६३ मिनेटमा गोल गरेका थिए। यसअघि सर्जियो रामोसले तेस्रो मिनेटमा गोल गरेर स्पेनलाई अग्रता दिलाए। इस्कोले १६ र डेभिड सिल्भाले ३९ मिनेटमा गोल गरे। एक गोल स्पेनले आत्मघाती गोलको रुपमा उपहार पायो।
जितसँगै स्पेनले ८ खेलबाट २२ अंक जोडेको छ। इजरायललाई १–० ले हराएको इटाली १९ अंक जोडेर दोस्रो स्थानमा छ। अन्तिम दुई खेल बाँकी हुँदा विश्व कपमा छनोट हुन स्पेनलाई एक जित खाँचो छ। इटालीको लागि स्पेनको नतिजा कुर्नु पर्ने बाध्यता बन्न पुगेको छ। स्पेन छनोट भएको खण्डमा इटालीको दोस्रो भएर ‘प्लेअफ’ खेल्ने सम्भावना जीवितै छ।
समूह ‘डी’ को खेलमा सर्वियाले आयरल्यान्डलाई १–० ले हराएको छ। वेल्सले माल्डोभालाई २–० ले पराजित गर्यो। सर्विया १८ अंक जोडेर शीर्षस्थानमा छ भने दोस्रो स्थानको वेल्सको १४ अंक छ। १३ अंक जोडेको आयरल्यान्डको पनि विश्व कप खेल्ने आशा जीवित नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।