काठमाडौं- दोलखाका डम्बर विष्ट वैदेशिक रोजगारीका लागि कतार जान गाउँबाट काठमाडौं आए। उनलाई साथीहरुले उपेन्द्रबहादुर चन्द नाम गरेका व्यक्तिबाट कतार जाँदा राम्रो हुने सुनाए। राम्रो काम र कमाइ हुने लोभ देखाएपछि चन्दले विष्टलाई १ लाख ८० हजार बुझाए।
तर, रकम बुझाएपछि विष्टले कुनै रसिद वा प्रमाण पाएनन्। कतारको भिसा लाग्दा भनेर कुरेका विष्ट तब निराश भए, जब चन्द सम्पर्कविहीन भए।
यसरी ठगीमा परेका विष्टले अपराध अनुसन्धान महाशाखा टेकुमा चन्दविरुद्ध उजुरी दिएका छन्।
OOO
तुल्सीप्रसाद शर्माले पनि साथीहरुकै कुरा सुनेर यमराज ठाडा मगरलाई अमेरिका जाने भन्दै ४५ लाखभन्दा बढी रकम बुझाएका थिए। भारतको बाटो हुँदै अमेरिका पुर्याउने र अमेरिकामा मासिक ४ लाखभन्दा बढी कमाइ हुने प्रलोभन देखाइएको थियो।
एसएलसीसम्मको अध्ययन सकेर बसेका शर्माले खुसी हुँदै उक्त रकम मगरलाई बुझाए। जब रकम हात पारे, मगर फरार भए। अहिले पश्चात्तापको पिरमा परेका शर्माले मगरविरुद्ध महाशाखामामा उजुरी हालेका छन्।
OOO
यसरी चिनजानकै साथी वा आफन्तका माध्यमबाट विदेश जाने युवाहरु ठगिने क्रम बढ्दो छ।
साउदी, कतार, ओमान, बहराइन, लगायत खाडी मुलुक र अमेरिका, युरोप जस्ता विकसित मुलुकमा समेत रोजगारीमा पठाउने नेपाली विभिन्न गिरोहबाट ठगिने गरेका छन्।
‘आफ्नै साथीको कुरा सुनेर साथीमार्फत चिनेको मान्छेलाई रकम बुझाउँदा फसेका धेरै छन्,' अपराध अनुसन्धान महाशाखा टेकुका एसपी सोमेन्द्र सिहं भन्छन्, 'यस्तै गुनासा बोकेर उजुरी आउने क्रम बढिरहेको छ।'
वैदेशिक रोजगार विभागमा पनि वैदेशिक रोजगारीका नाममा ठगीमा परेका व्यक्तिगत उजुरी दैनिकजसो ५ वटाभन्दा बढी आउने गरेको छ। ठगिएका तर प्रमाण नभएका व्यक्तिहरु भने अपराध अनुसन्धान महाशाखा टेकुमा उजुरी लिएर जाने गरेका छन्। व्यक्तिगत तथा विभिन्न कन्सलटेन्सीका नाममा ठगीका उजुरी बढ्दै गएको महाशाखाका एसपी सोमेन्द्र सिहंले जानकारी दिए।
दैनिक १० भन्दा बढी व्यक्तिगत उजुरी
अपराध अनुसन्धान महाशाखामा मात्रै वैदेशिक रोजगारीका नाममा दैनिक १० भन्दा बढी आउने गरेको शाखाका एसपी सिंहले जानकारी दिए। 'यतिबेला खाडीभन्दा पनि विकसित मुलुकमा रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गर्ने गिरोह धेरै सक्रिय छन्,' उनले भने, 'रोजगारीमा जान ठूलो रकम बुझाउँदा मान्छे को हो, कस्तो हो नबुझी विश्वास गर्दा धेरै युवा ठगीमा परेका छन्।’
खाडी लगायतका मुलुकमा रोजगारीमा पठाइदिने बहानामा १ लाखदेखि ३ लाखसम्म ठगी गरेको पाइएको छ भने युरोप, अमेरिका, क्यानडा, जापान लगायतका विभिन्न युरोपियन मुलुकमा भारतको बाटो हुँदै अवैध रुपमा लैजाने क्रममा प्रतिव्यक्ति १५ लाखदेखि ५० लाखसम्म ठगी गरेको पाइएको छ।
हटलाईनमार्फत रोजगारीका गुनासा
रोजगारीका लागि विभिन्न मुलुक पुगेका श्रमिकहरु समस्यामा पर्ने घटना बढेसँगै नेपाल प्रहरीले ११७७ नम्बरको हटलाइन सेवा सुरु गरेर गुनासाहरु टिपोट गर्ने काम समेत गरिरहेको छ।
हटलाइनमार्फत पनि वैदेशिक रोजगारीका गुनासा दैनिकजसो आउने गरेको महाशाखाले जनाएको छ। समस्यामा परेका श्रमिकका लागि तत्काल उद्धारको पहल गर्न हटलाइन सुरु गरिएको हो। तर गुनासा सुनुवाइपछि कार्यान्वयन भने हुन नसकेको पीडितहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।