काठमाडौँ- आजदेखि सोह्रश्राद्ध सुरु भएको छ। यसको अवधि आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म रहन्छ।
प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ। आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ। पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ।
यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष दिनसम्म तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। ठूला पर्व दसैं, तिहार मनाउनुअघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्पराअनुसार सोह्रश्राद्ध गरिने धर्मशास्त्रीविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।
'सक्नेले १६ दिन, नसक्नेले आश्विन कृष्ण पञ्चमीदेखि औँसीसम्म, त्यो पनि नसक्नेले दशमीदेखि औँसीसम्म र त्यो पनि नसक्नेले पिताको मृत्यु भएको तिथिमा आस्था निष्ठापूर्वक श्रद्धा गर्नुपर्छ,' उनले भने।
आश्विन कृष्णपक्ष अर्थात् पितृ पक्षमा आसोचका कारण श्राद्ध गर्न नपाउनेले आश्विन शुक्ल पञ्चमीसम्म, त्यसमा पनि नहुनेले कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारे औँसीका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ।
बाबुको तिथिमा एक दिन मात्र सोह्रश्राद्ध गर्नेले चतुर्दशी र मगान क्षेत्र परेका दिन श्राद्ध गर्नु हुँदैन। बुधबार प्रतिपदा तिथिमा श्रद्धा गरिँदैछ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।