ब्युनोस आयर्स– साविक उपविजेता अर्जेन्टिनाको विश्वकप छनोट यात्रा कठिन बन्दै गएको छ। दक्षिण अमेरिकी छनोटअन्तर्गत लगातार दुई खेल बराबरी खेलेको अर्जेन्टिना अंक तालिकको पाँचौ स्थानमा छ।
बुधबार भएको खेलमा लिओनल मेसी फेरि गोल गर्नबाट चुके। अर्जेन्टिनालाई अंक तालिकाको पुछारमा रहेको भेनेजुएलाले १–१ गोलको बराबरीमा रोक्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुबै गोल भेनेजुएलाका खेलाडीले गरे। ५१ मिनेटमा मुरिलोले गोल गर्दै भेनेजुएलालाई अग्रता दिलाए। तीन मिनेटपछि भेनेजुएलाका फेट्चरले आफ्नै पोस्टमा आत्मघाती गोल गर्दै अर्जेन्टिनालाई राहत पुर्याए। अघिल्लो खेलमा अर्जेन्टिनाले उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो।
दक्षिण अमेरिकी छनोटका अन्य खेलमा ब्राजिल र कोलम्बियाले पनि १–१ गोलको बराबरी खेलेका छन्। ब्राजिलका विलियनले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे। कोलम्बियाका फाल्काओले ५६ मिनेटमा बराबरी गोल फर्काए। अन्य खेलमा पेरुले इक्वेइडरलाई २–१, उरुग्वेले पाराग्वेलाई पनि २–१ र बोलिभियाले चिलीलाई १–० ले हरायो।
अन्तिम दुई खेल बाँकी हुँदा शीर्षस्थानको ब्राजिलले ३७ अंक जोडेको छ। ब्राजिल यसअघि नै विश्व कपमा छनोट भइसकेको छ। दोस्रो स्थानको उरुग्वेको २७, तेस्रो स्थानको कोलम्बियाको २६ र चौथो स्थानको पेरुको २४ अंक छ। पाँचौ स्थानको अर्जेन्टिनाको पनि २४ अंक नै छ। चिली २३ अंक जोडेर छैटौं, २१ अंक जोडेर सातौ स्थानमा रहेको पाराग्वे र २० अंक जोडेर आठौं स्थानमा रहेको इक्वेडरको पनि छनोट हुने सम्भवाना जीवितै छ। दक्षिण अमेरिकाबाट शीर्ष चार टोली सिधैं विश्वकपमा छनोट हुने प्रावधान छ। पाँचौ हुने टोलीले अन्तरमहादेशीय ‘प्लेअफ’ खेल्न पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।