काठमाडौं- त्रिवि कार्यकारी परिषद्ले गत शनिबार गठन गरेको अनुगमन समितिले घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा आकस्मिक निरीक्षण गरेको छ।
अनुगमनका क्रममा अस्पताल पुगेको टोलीले डाक्टर, अस्पताल प्रशासनका कर्मचारी र बिरामी कोही पनि भेटेन। यो त्यही मेडिकल कलेजको अस्पताल हो जसलाई त्रिवि कार्यकारी परिषदले साउन १२ गते सम्बन्धन दिएको थियो। स्वास्थ्य मन्त्रालयबाट स्विकृति नलिएको र मापदण्ड पनि पूरा नगरेको सुनसान अस्पताललाई सम्बन्धन दिएपछि सर्वत्र विरोध भएको थियो। विरोधपछि परिषदले गत शनिबार सम्बन्धन स्थगन गर्दै अस्पतालको अनुगमन गर्न तीन सदस्यीय अनुगमन टोली गठन गरेको थियो।
सोही टोलीले बुधबार अस्पतालमा अनुगमन गरेको थियो।
सुनसान अस्पतालको अनुगमनपछि टोलीका सदस्यले अस्पतालमा पत्र बुझाउने कर्मचारीसमेत नभेटेपछि सुरक्षा गार्डलाई पत्र बुझाएर निस्किएका छन्। टोलीले अस्पतालको हरेक विभाग र वार्डमा दुई घन्टा अनुगमन गरेको थियो। अनुगमनका क्रममा अस्पतालका सबै बेड रित्ता थिए। प्रशासनका कर्मचारी र डाक्टर समेत थिएनन्।
टोलीमा त्रिविका परशुराम कोइराला, कानुनका तर्फबाट सनद देवकोटा र डा प्रसन्न भट्ट थिए।
टोलीले अस्पतालमा बिरामीको रकेर्ड राख्ने फाइल पल्टाएर समेत हेरेको थियो।
उक्त क्रममा २०७१ सालदेखि हालसम्म वार्डमा बिरामी भर्ना भएको कुनै पनि रेकर्ड भेटिएन। अस्पताल चलेको भन्दै चार वर्षदेखि हल्ला गरेको र मेडिकल कलेजको सम्बन्धन समेत पाइसकेको अस्पतालको रेकर्डमा बिरामी फेला नपरेपछि टोली आश्चार्यमा परेको थियो। टोलीले आझै खारेजीको सिफारिस गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।