काठमाडौं- 'छक्का पञ्जा २' को सोलो रिलिजलाई चुनौती दिँदै असोज ११ मा रिलिज गर्ने घोषणा गरेको 'मंगलम'ले आफ्नो फस्ट लुक पोस्टर सार्वजनिक गरेको छ। प्रचारका लागि छोटो समय भएकाले आक्रामक रूपमा प्रचारमा उत्रने बताएको फिल्मले पोस्टर सार्वजनिक गरेको हो।
'मंगलम'ले फिल्मको प्रचारका लागि हाल हलमा सफलता पाइरहेको 'ए मेरो हजुर २'की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी साहलाई हतियार बनाएको छ। युवा पुस्तामाझ साम्राज्ञी रुचाइएकी अभिनेत्री हुन्।
मंगलमले उनलाई राखेर पोस्टरबाट क्यास गर्ने प्रयास गरेको हो। सार्वजनिक पोस्टरमा साम्राज्ञीले फिल्मका तीन मुख्य कलाकारअंकित फोटो आफ्नो हातमा बोकेकी छन्।
'मंगलम' साम्राज्ञी ब्रान्डको प्रयोगले फिल्मको प्रचारमा कस्तो असर गर्छ, रिलिजपछि थाहा हुनेछ। फिल्ममा साम्राज्ञी पनि एक महत्वपूर्ण भूमिकामा रहेकी छिन्। नवल नेपाल निर्देशित फिल्ममा शिल्पा पोखरेल, पुष्पल खड्का तथा पृथ्वी राजको मुख्य अभिनय रहेको छ।
शिल्पा यसै फिल्मबाट निर्मात्रीका रूपमा उदाउँदैछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।