पर्वत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक अनियमितता र भ्रष्टाचारको गुनासो आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताएकी छिन्।
आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजना गरेको अन्तर्क्रियामा आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि र स्थानीय तहमा भइरहेका अनियमितताको बारेमा निगरानी राखेको र जुनसुकै बेला पनि कारवाही हुनसक्ने स्पष्ट पारिन्।
स्थानीय तहमा जथाभावी नियम बनाउने र अनावश्यक रुपमा खर्च गर्ने प्रवृत्ति बढेको भन्दै प्रचलित कानुनले वर्जित गरेका काम गर्ने जनप्रतिनिधि भ्रष्टाचारको अभियोगमा पर्ने खतरा रहेको उनको भनाइ थियो। उनले उपभोक्ता समितिमा आफन्तलाई राख्ने, आफ्ना र आफन्तका निर्माण उपकरण परिचालन बढेको र जनप्रतिनिधिकै सङ्लग्नतामा प्राकृतिक स्रोतसाधनको दोहन भइरहेको उजुरी सबैभन्दा बढी आयोगमा परेका कारण यस्ता काम रोक्न अथवा कारवाहीका लागि तयार हुनुपर्ने बताइन्।
जिल्ला समन्वय समितिका प्रमुख मनोहर पौडेलले नदीजन्य पर्दाथ उत्खनन र बिक्री गर्ने कुरा सधैँ विवादमा आएको बताउँदै वातावरणीय प्रभाव मुल्याङ्कनको प्रतिवेदनअनुसार घाटगड्डी गरेर बिक्री गरेमा कुनै समस्या नआउने उल्लेख गरे।
आयोग क्षेत्रीय कार्यालय पोखराका प्रमुख काशीराज दहालले जनप्रतिनिधिले व्यवसाय गर्ने छुट भए पनि आफ्नो स्थानीय तहबाट प्रत्यक्ष लाभ लिने गरी व्यवसाय गर्दा अख्तियारको दुरुपयोग र गलत मनसाय देखिने भएकाले सचेत हुन आग्रह गरे।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सुशासन कायम गर्न कार्यालय प्रमुख र स्थानीय तहका कर्मचारीले सहयोग गर्नुपर्नेुमा जोड दिए।
कार्यक्रममा सञ्चारकर्मीहरुले स्थानीय तह र सरकारी कार्यालयमा अनियमितता बढेको बताएका थिए भने कतिपय जनप्रतिनिधिले सामान्य काम गर्दा पनि अनेक बहानामा रोक्ने काम गर्दा अधिकार हनन भएको भन्दै ध्यानाकर्षण गराएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।