काठमाडौं- साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा-कर्तुत उदांगो भएको छ।
आफूसहित सञ्चालक समितिका चार सदस्यले शिक्षा मन्त्रालयमा राजीनामा दिए पनि शिक्षामन्त्रीले अस्विकृत गरेको शर्माले झुटो सूचना दिँदै आएका थिए। शिक्षा मन्त्रालयले विज्ञप्ति नै जारी गरी राजीनामा नआएको पुष्टि गरेको हो। मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसबारे शिक्षामन्त्रीसँग परामर्श नभएको र कुनै निर्देशन नदिएको जनाइएको छ।
शर्माले भने आफूसहित सदस्यहरु प्रदीप नेपाल, दीनानाथ शर्मा र कृष्णहरि बरालले संयुक्त रुपमा भदौ ९ गते मन्त्रालयमा राजीनामा बुझाएको दाबी गर्दै आएका थिए।
नेपाल र बरालका अनुसार उनीहरुले हस्ताक्षर गरेपछि शर्माले नै मन्त्रालयमा राजीनामा बुझाएको जानकारी गराएका थिए। मन्त्रालयकै विज्ञप्ति आएपछि भने शर्माले सञ्चालक समितिका सदस्यलाई समेत गुमराहमा राखेको पुष्टि भएको छ।
शर्माको कार्यशैलीप्रति सदस्यहरु पनि असन्तुष्ट छन्। बरालले अब आफूलाई साझामा बस्ने रुचि नभएको बताएका छन् भने नेपालले साझाकै कारण आफू अस्वस्थ भएको सुनाए। 'अब पनि त्यहाँ जानु भनेको थप समस्या आउनु हो। बैठकै डाके पनि म चाहिँ जाँदिन,' नेपालले भने।
संस्थामा चरम अनियमितता गरेको घटना सार्वजनिक भएपछि शिक्षा मन्त्रालयले साउन १२ गते उप–सचिव गणेश ढकालको नेतृत्वमा छानबिन समिति बनाएको थियो। समितिले तयार पारेको प्रतिवेदन आवश्यक कारबाहीका लागि मन्त्रालयले अख्तियार पठाइसकेको छ।
शर्माले आफू चोखिने नाममा राजीनामा अस्विकृत भएपछि काममै फर्किएको झुटो अभिव्यक्ति दिएका थिए।
संस्थाको वार्षिक आयव्यवमा गडबडी गरेको, पुस्तक बिक्री वितरणको हिसाबकिताब चुस्त नराखेको, साझाकै लोगो राखेर व्यक्तिगत तवरबाट पुस्तक प्रकाशन गरेको, पुराना कर्मचारीलाई अवकाश दिई आफू अनुकूल नयाँ कर्मचारी भर्ना गरेको लगायत आरोप उनीमाथि छ।
स्पष्टीकरण माग
शिक्षा मन्त्रालयले महाप्रबन्धक शर्मालाई स्पष्टीकरणका लागि तीन दिनको समय दिएको छ।
सत्यतथ्य खुलाई तीन दिनभित्र जवाफ पेस गर्न उनीसँग स्पष्टीकरण मागिएको हो। शिक्षामन्त्रीका स्वकीय सचिव मेखलाल श्रेष्ठले छानबिन समिति गठन, स्पष्टीकरण लगायतका कारबाही प्रक्रियागत रुपमा अघि बढेको बताए। 'कपोकल्पित सूचना छरेर उहाँले भ्रम छर्न खोज्नुभएको रहेछ। राजीनामा आएकै छैन तर केही अखबारले नबुझीकन राजीनामाको समाचार बनाएको देख्दा अचम्म लागेको छ,' उनले भने।
सम्बन्धित समाचार : राजीनामाबारे झुट बोले महाप्रबन्धक शर्माले
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।