नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष जयकुमार नाथ शाहको ८९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ।
तीन दिनअघि घरमा लडेका शाहको नर्भिक अस्पताल, थापाथलीमा उपचारका क्रममा बिहान १० बजेर १५ मिनेटमा निधन भएको पारिवारिक श्रोतले नेपाल लाइभलाई जानकारी दिएको हो। शाहले ४० वर्ष क्यानको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। उनी २०६३ सालमा क्यानको अध्यक्षबाट हटेर संरक्षक बनेका थिए।
राजा महेन्द्रका साढुभाई समेत रहेका शाह क्यानको टिमबाट विकेटकिपरको भूमिकामा क्रिकेट खेल्ने गर्थे। उनलाई विश्व क्रिकेटको पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले आजीवन सदस्यता प्रदान गरेको थियो। गत महिना मात्र क्यानले आफ्नो विशेष साधारण सभामा उनलाई सम्मान गरेको थियो।
उनको दाहसंस्कार भोली भारतको बनारसबाट पण्डितहरु आएपछि गरिने पारिवारिक श्रोतले बताएको छ। ‘उनको निधनको खबरले मर्माहित भएको छु। लामो समय विपक्षी टोलीमा रहेर खेल्यौं,’ शाहका समकक्षी तथा पूर्व क्रिकेटर शक्ति राणाले नेपाल लाइभसँग भने। शाह एसियाली क्रिकेट महासंघ (एसिसी) को उपाध्यक्ष भइसकेका व्यक्ति हुन्। उनले ७०, ८० र ९० को दशकमा नेपाल क्रिकेटलाई अगाडि बढाउन अविभावकको भूमिका निर्वाह गरेका थिए। उनी अध्यक्ष हुँदा नेपालले १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) को मान्यता पाएको थियो। यसपछि नेपालको अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने ढोका खुलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।