फ्लोरिडा : बुहारी कुट्न पन्जाबबाट १३ हजार किलोमिटर (८ हजार माइल) हवाई यात्रा गरी अमेरिकाको फ्लोरिडा पुगेको एउटा भारतीय दम्पती प्रहरीको फन्दामा परेको छ।
फ्लोरिडा प्रहरीका अनुसार भारतीय राज्य पन्जाबबाट ६७ वर्षीय जसबिर कल्सी र उनकी ६२ वर्षीया पत्नी भुपिन्दर बुहारी कुट्नकै लागि फ्लोरिडा राज्यको हिल्सबरो काउन्टी पुगेका थिए।
प्रहरीलाई भने उनीहरूले बुहारीलाई ‘सम्झाउन, सुधार्न र अनुशासित बनाउन’ छोरा देवबिरको घर आएको बताएका थिए।
प्रहरी अधिकारीहरूले देवबिरकी पत्नी सिल्की गाँदलाई नराम्ररी कुटिएको र चोटपटक लागेको अवस्थामा शनिबार फेला पारेका थिए। गाँदका आमाबाबुले छोरीमाथि कुटपिट भएको एसएमएस पठाएपछि प्रहरी देवबिरको घर पुगेका थिए।
प्रहरीले देवबिर र उनका आमाबाबु भुपिन्दर तथा जसबिरलाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध बुहारीमाथि कुटपिट, यातना लगायत विभिन्न अभियोगमा मुद्दा चलाएको छ।
एक महिनाअघि पत्नीसहित फ्लोरिडास्थित छोराको घर पुगेका जसबिरले आफ्नो घाँटीमा छुरी तेर्स्याएको बुहारी गाँदले बताएकी छन् ।
हिल्सबरो काउन्टी सेरिफको कार्यालयबाट प्रहरी अधिकारीहरू नआउन्जेल ३३ वर्षीया गाँदलाई देवबिरको घरमा बन्दी बनाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
देवबिरको घरमा प्रहरी अधिकारी पुगेपछि पनि जसबिर दम्पतीले भित्र पस्न दिएनन् र प्रहरी टोली फर्कनुपर्ने स्थितिमा पुगेको थियो। प्रहरी फर्कनै लाग्दा गाँदले उनीहरूसँग फोनमा आफू र एक वर्षीया छोरीको उद्धार गर्न हारगुहार गरेकी थिइन्।
आइतबार अदालतमा भएको सुनुवाइमा न्यायाधीशसामु गाँदले कुटपिटपछि आफू मरिसकेको ठानेर पति देवबिरले छाडेको बयान दिएकी थिइन्।
‘म अझै डरले कामिरहेकी छु। किनभने गएराति देवबिरले प्रहरीलाई फोन गरिस् भने तँलाई मार्छु भनेको थियो,’ गाँदले भनिन्, ‘तपाईंलाई के थाहा, उसले मलाई मारेरै छाड्छ। पुलिस आउन १० मिनेट लाग्छ, त्यतिन्जेल म तँलाई मारेर आफू पनि मर्छु भनेर उसले भनेको थियो।’
जसबिर दम्पती र देवबिरविरुद्ध बन्धक बनाएको, बालदुर्व्यवहार, छुरी तेर्स्याएर ज्यान मार्ने धम्की दिएको र प्रहरीसँग सम्पर्क गर्नबाट रोकेको, घरेलु हिंसा गरेको लगायत अभियोगमा मुद्दा चलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।