वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा बसिरहेका अवैध आप्रवासीलाई स्वदेश फर्काउनबाट रोक्ने कार्यक्रम ‘डिएसिए’ खारेज गरेका छन्।
‘द डेफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स’ (डिएसिए) कार्यक्रम खारेज गर्ने ट्रम्पको कदमको असर अमेरिकामा रहेका ८ लाख बालबालिका, किशोरकिशोरी र युवा आप्रवासीमाथि पर्नेछ।
पूर्व राष्ट्रपति बाराक ओबामाले कागजपत्र नभएका अवैध आप्रवासीलाई स्वदेश फिर्ती गर्नबाट रोक्न डिएसिए कार्यक्रम ल्याएका थिए।
राष्ट्रपति ट्रम्पको निर्णयले ‘अमेरिका फस्र्ट’ एजेन्डामा उनी कायमै रहेको संकेत गरेको छ। उनले भनेका छन्, ‘सबैभन्दा पहिले हामीले हाम्रा अमेरिकी युवाका पनि सपना छन् भनेर सम्झनुपर्छ।’
यो निर्णयले आगामी मार्च ५ अर्थात् ६ महिनासम्म भने ती अवैध आप्रवासीलाई कुनै असर पर्ने छैन। ट्रम्पले डिएसिए र यसबाट प्रभावित हुने अवैध आप्रवासी सम्बन्धमा निर्णय गर्ने काम अब कंग्रेसको जिम्मा भएको बताएका छन्।
डिएसिए खारेजीपछि पूर्व राष्ट्रपति ओबामाले राष्ट्रपति ट्रम्पको निर्णय गलत र क्रूर भएको टिप्पणी गरेका छन्।
यी अवैध आप्रवासीमध्ये अधिकांश दक्षिण अमेरिकी छन्।
डिएसिए कार्यक्रमले उनीहरूलाई अमेरिकामा बस्न, अध्ययन गर्न र काम गर्न सहज भएको थियो।
राष्ट्रपति ट्रम्पले भने पूर्व राष्ट्रपति ओबामामाथि राष्ट्रपतिको कार्यकारी अधिकार दुरुपयोग गरी डिएसिए ल्याएको आरोप लगाउँदै कंग्रेससँग यसको स्थायी समाधान खोज्न आग्रह गरेका छन्।
डिएसिए खारेजीको व्यवसायी, धार्मिक नेता, मेयरहरू, राज्यका गभर्नरहरू, डेमोक्रेट सांसदहरू, कर्मचारी/मजदुर युनियन लगायतले निन्दा गरेका छन्।
डेमोक्रेट सांसद नान्सी पेलोसीले डिएसिए खारेज गर्ने राष्ट्रपति ट्रम्पको निर्णय राजनीतिक कायरता र घृणित कार्य भन्दै विरोध गरेकी छन्।
म्यासाचुसेट्स राज्यका महान्यायाधीवक्ता माउरा हिलीले केही दिनभित्रै अन्य राज्य मिलेर डिएसिए खारेजीविरुद्ध अदालतमा मुद्दा दायर गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।