काठमाडौँ– ६ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेकी सिन्धुपाल्चोककी एक युवती पाँच वर्षदेखि सम्पर्कविहीन छिन्।
चौतारा साँगाचोकगढी नगरपालिका, कुविण्डेकी डोल्मा तामाङलाई २०६८ सालमा स्थानीय दलालले राम्रो काम र पैसा पाउने प्रलोभन देखाउँदै कुवेत पुर्याएका थिए । कुवेत पुगेको एक वर्षसम्म उनी परिवारको सम्पर्कमा थिइन् । यसपछि उनी एकाएक सम्पर्कविहिन बन्न पुगिन्।
डोल्माकी आमा छेकु तामाङ भन्छिन्, ‘गएको एक वर्ष सम्पर्कमै थिई, तीन/चार चोटि फोन गरेकी थिई । पाँच वर्षदेखि कुनै अत्तोपत्तो छैन।’
फोन गर्दा डोल्माले कुवेतमा आफूले घरको काम गर्ने र काम राम्रै रहेको परिवारका सदस्यलाई बताएकी थिइन् । छोरीले विदेशबाट कमाएर पठाउली भन्ने आशामा आमा–बुबाले कलिलै उमेरमा उनलाई विदेश पठाएका पठाएका थिए।
डोल्मा वैदेशिक रोजगारीमा जाँदा १७ वर्षकी मात्रै भए पनि नागरिकतामा उमेर बढाएर पठाइएको थियो । आमा छेकुका अनुसार, त्यसबेला ४५ हजार रुपैयाँ खर्च गरेर छोरीलाई पठाएका थिए । छोरी गएको तीन महिनापछि १५ हजार पठाएको र त्यसपछि कुनै रकम नआएको समेत उनले बताइन्।
सिन्धुपाल्चोक पाँचखर्कका कर्मा लामा र बतासेका प्रकाश लामा भन्ने व्यक्तिले डोल्मालाई कुवेत पठाउन भूमिका खेलेका थिए । अहिले छोरीको विषयमा सोध्दा आफूलाई थाहा नभएको भन्दै टार्ने गरेको परिवारको गुनासो छ । आमा छेकुले भनिन्, ‘पहिले चुप लागेर बस आइहाल्छे भन्थे, एक महिना, दुई महिनाभन्दै पाँच वर्ष बितिसक्यो।’
आरोपी कर्मा लामासँग यसबारे प्रश्न गर्दा उनले डोल्मालाई कुवेत पठाएको स्वीकार गरे । उनले आफूले काम गर्न पठाएको घरबाट डोल्मा अन्यत्रै भागेको हुनाले कुनै जानकारी नपाएको बताएका छन् । कर्माले मेनपावरबाट नभई व्यक्तिगत रुपमा डोल्मालाई कुवेत पठाएको बताए । छेकुका एक छोरी डोल्मा र दुई छोरा छन् । दुई छोरामध्ये एक कक्षा १० र अर्को ८ मा पढ्दै गरेका छन् । कुवेती पुगेकी डोल्माले कक्षा ६ सम्म मात्र अध्ययन गरेकी छिन्।
छोरी सम्पर्कविहीन भएपछि छेकुको दिन रुवावासीमा बित्ने गरेको छ । हातमा पासपोर्ट साइजको छोरीको तस्बीर देखाउँदै उनी भन्छन, ‘मेरो छोरी कहाँ छे? खोज्दिनुपर्यो हजुर। कहाँ खोज्न जाने मलाई थाहा छैन ।’ छोरी बेखबर भएको उजुरी आफूले प्रहरीमा नगरेको जानकारी दिए।
श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत सामी परियोजना, सिन्धुपाल्चोककी प्रतिनीधि रिना श्रेष्ठले सिन्धुपाल्चोकबाट वैदेशीक रोजगारीमा गएका सम्पर्कविहीन हुनेको सङ्ख्या पछिल्लो वर्षमा बढ्दै गएको जानकारी दिइन् । उनले गत वर्षयता आफू कहाँ दुई महिला र दुई पुरुषले निवेदन दिएको जानकारी दिइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।