काठमाडौँ- प्रदेश २ को १५ वटा स्थानीय तहमा तालमेलको तयारी गरेका कांग्रेस र माओवादी केन्द्रबीच जम्मा दुई ठाउँमा मात्रै तालमेल भएको छ। अन्य तहमा तालमेल गर्न माओवादी केन्द्र सकरात्मक नभएपछि दुई वटा नगर क्षेत्रमा मात्र सत्तारुढ दलको तालमेल हुने टुंगो लागेको हो।
कांग्रेस नेता आनन्द ढुंगानाका अनुसार धनुषाको मिथिला नगरपालिका र बाराको निजगढ नगरपालिकामा मात्रै माओवादी केन्द्रसँग तालमेल भएको छ। 'माओवादी केन्द्रका साथीहरु तयार नभएपछि हामीले दुई जिल्लाका नगरपालिकामा मात्रै तालमेलको सहमति गरेका छौँ,' नेता ढुंगानाले भने।
सहमति अनुसार मिथिला नगरपालिकाको मेयर कांग्रेसले पाएको छ भने माओवादी केन्द्रले उपमेयरमा उम्मेदवारी दिएको छ। यता बाराको निजगढ नगरपालिकामा मेयर सहित ७ वडाध्यक्ष कांग्रेसले लिने र उपमेयरसहित ६ वडाध्यक्ष माओवादी केन्द्रले लिनेगरी मनोनयन दर्ता भएको छ।
कांग्रेसले माओवादीसँग तालमेल गरेको धनुषाको मिथिला नगरपालिकामा मेयरमा राजकुमार महतोलाई उठाएको छ भने बाराको निजगढ नगरपालिकाको मेयरमा सुरेश खनाललाई अघि सारेको छ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले माओवादी केन्द्रसँग विचार मिल्ने भएकाले अन्य स्थानमा मधेशी दलले तालमेल गर्ने प्रस्ताव गरेपछि कांग्रेससँग दुई स्थानमा मात्रै तालमेलको सहमति भएको बताइन्। 'हामीले परिवर्तनको एजेन्डालाई समर्थन गर्ने सबैसँग तालमेलको विकल्प खुल्ला गरेका थियौँ, अन्य केही स्थानमा अरु दलसँग तालमेल हुने भएको छ,' उनले भनिन्।
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिने समय पनि सकिएको छ। निर्वाचन आयोगले बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।