काठमाडौं- गायिका अन्जु पन्तको पहिलो एकल साँझ हुने भएको छ । अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि अन्जु एकल साँझ गर्न लागेकी हुन् । आउँदो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा साँझ ४ बजेबाट हुने कार्यक्रममा अन्जुले आफ्ना जीवनकालका आधा दर्जन चर्चित गीत सुनाउने छिन् । यसका लागि २७ जना वाद्यवादकको टोलीका साथ अन्जुले मंगलबारबाट राष्ट्रिय नाचघरको प्रांगणमा अभ्यास सुरू गरेकी छन् ।
अन्जुले पहिलो एकल साँझका लागि आफू एकदमै उत्साहित भएको बताएकी छन् । ‘ दुई दशक लामो सांगीतिक यात्रामा मैंले एकल एल्बम र एकल गायन गर्न पाएको थिइँन । त्यो मध्ये एकल गायनको अवसर पाएको छु । मंगलबार अभ्यास गर्यौं, साँच्चिकै रमाइलो भयो । अब शनिबारको प्रतिक्षामा छु,’ अन्जुले भनिन्।
करिब दुई घन्टा चल्ने एकल साँझमा अन्जुले फिल्मी गीतसँगै सुगम गीत पनि सुनाउने छिन् । उनले पछिल्लो समय चलेका ‘म यस्तो गीत गाउँछु’,‘भन्छु आज’, ‘सुर्के थैली’सँगै सुगम संगीतमा सर्वाधिक लोकप्रिय रहेका ‘नबिर्सें तिमीलाई नपाएँ तिमीलाई’, ‘जिन्दगी यो फूलै फूलको थुंगो हुँदैन’ आदि गीत गाउने तयारी गरिरहेकी छिन्।
एकल साँझबाट हुने फाइदाको रकम पर्दा पछाडि काम गर्ने रेकर्डिस्टको संस्था रेकर्डिस्ट एसोसियनलाई ५० प्रतिशत र गरिब जेहनदार बालबालिकाको शिक्षाका लागि ५० प्रतिशत खर्च गर्ने उनले बताइन् ।
एकल साँझबाट उठेको रकम अन्जु पन्त फाउन्डेसनको माध्यमबाट बालबालिकाका लागि खर्च गरिने छ । भदौ २४ गते अर्थात् आउँदो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने एकल साँझमा सहभागिताका लागि टिकट मूल्य ३ हजार, २ हजार र १ हजार राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।