काठमाडौं- बाला चतुर्दशी पर्वको अवसरमा आज बिहानै पवित्र पाशुपत्र क्षेत्रमा पितृहरुको स्मृतिमा शतबीज छरिएको छ।
दिवंगत पितृको सम्झनामा बिहीबार साँझदेखि रातभर जाग्राम बसेका र बिहानै पशुपतिनाथ मन्दिर परिसर पुगेकाहरुले शतबीज छरेका हुन्। बेलुकै आएर जाग्राम बस्नेहरु र बिहान शतबीज छर्नका लागि मात्रै आउने री कूल एक लाखभन्दा बढीले शतबीज छरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।
दर्शनार्थीहरुले पशुपति मन्दिर, कैलाश डाँडा, वनकाली, किँरातेश्वर, श्लेषमान्तक वन लगायतका स्थानमा शतबीज छरे।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृको स्मरणमा बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा छ।
गएराति दीप प्रज्ज्वलन गरी भजनकीर्तन गरिएको थियो। पशुपति क्षेत्र विकास कोषले रातभर बत्ती कुरेर बस्न नसक्नेका लागि भने रु एक हजार तिरी कर्मचारी खटाई बत्ती बाल्ने व्यवस्था मिलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।