काठमाडौं- अमेरिकाको बोस्टन सहरमा नेपाली मन्दिर र सामुदायिक भवन बन्ने भएको छ।
बोस्टनमा जमघट र चाडपर्वका बेला एकै ठाउँ भेला हुने उपयुक्त स्थान नभएकाले त्यहाँका नेपालीकै सक्रियतामा सामुदायिक भवन बन्न लागेको गैरआवासीय नेपाल संघ अमेरिकाका सदस्य तथा बोस्टनका बासिन्दा तृष्णा काफ्ले शर्माले जानकारी दिइन्।
सामुदायिक भवनका लागि जमिन किन्न पाँच महिनाअघि बोस्टनमा श्रीमद् भागवद् महापुराण सप्ताह लगाइएको थियो।
सो सप्ताहबाट साढे १६ लाख रुपैयाँ रकम संकलन भएको बताउदैँ शर्माले जमिन खोजी भइरहेको जनाइन्।
उनले भनिन्, 'हामीलाई चाडवार्डको समयमा मात्र होइन, काजकृया गर्न, कृयापुत्री बस्न समेत ठाउँ छैन। त्यसैले हामीले पशुपति बुद्ध फाउन्डेसन पहिले नै खोलेका थियौँ, सप्ताहबाट हामीलाई जमिन किन्न पुग्ने रकम उठेको छ।'
फाउन्डेसनले ५ वर्षदेखि देउसीभैलो खेलेर पनि रकम संकलन गरिरहेको उनले जनाइन्।
हाल नेपाली आएकी शर्माले भनिन्, 'हामीले त्यसरी सप्ताह गरेपछि अमेरिकाका अन्य सहरमा पनि सप्ताह लगाउन चाहनेहरु बढेका छन्। हामीले परदेशमै हाम्रो धार्मिक-संस्कृतिक जानकारी हाम्रा छोराछोरीलाई दिई पररम्परा जोगाउने प्रेरणा दिन पनि सामुदायिक भवन आवश्यक परेको हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।