दोस्रो विश्वयुद्धपछि म्यानमार (तत्कालीन बर्मा) मा नेपालीहरु बस्न थालेको तेस्रो पुस्ता भइसकेको छ। नेपालीहरु त्यहीँको नागरिकता पाएर सम्मानजनक हैसियतमा नेपाली मूलका बर्मेलीका रुपमा बसिरहेका छन्। त्यहाँ उनीहरुले आफ्नो पुर्खाकै संस्कृति र रहनसहन आत्मसात् गर्दै आएका छन्।
म्यानमारमा नेपाली मूलका बर्मेलीहरु अधिकांश खेतीपातीमा संलग्न छन् भने शहरमा बस्नेहरु व्यापार-व्यवसायमा आबद्ध छन्।
बेलायतले सन् १८८५ मा बर्मालार्इ कब्जा गरेपछि 'गोर्खा बर्मा राइफल्स' गठन गर्दा पहिलो र दोस्रो विश्वयुद्ध लड्न नेपालीहरु फौजमा भर्ती भएर त्यहाँ पुगेका थिए। दोस्रो विश्वयुद्ध सकिएपछि अवकाशप्राप्त गोर्खा सैनिकहरुलार्इ बेलायतले म्यानमार बस्ने कि फर्कने भनी सैनिकहरुलार्इ रोज्न लगाउँदा कतिपय फर्किए भने कतिपय म्यानमारमै बसे।
चार वर्षदेखि म्यानमारमा द्वन्द्व विश्लेषण तथा समाधान विषयमा अनुसन्धानरत धीरेन्द्र नाल्बोका अनुसार, सन् १९६२ मा जनरल नेविनले म्यानमारमा सैन्य कू गरेपछि गैरबर्मेलीहरुलार्इ देश छाड्न उर्दी जारी गरे पनि नेपालीहरुको सवालमा भने जाने वा बस्ने विकल्प खुला राखिएको थियो।
सन् १९८२ मा म्यानमार सरकारले नागरिकता कानुन ल्याएपछि म्यानमारमा बसिरहेका नेपालीहरुले बर्माको नागरिकता पाए। नेपाली मूलका बर्मेलीहरु सान राज्य, मान्डेले डिभिजन र कचिन राज्यमा गरी करिब साढे ९४ हजारको संख्यामा रहेको सरकारी तथ्यांक छ। तर, नेपाली मूलका बर्मेलीहरुको संस्थाले भने २ लाख संख्यामा बसेको दाबी गरेको छ।
नेपाली मूलका बर्मेलीहरुले म्यानमारमा आफ्नो भाषा, धर्म र संस्कार जोगाउन ३ सयभन्दा बढी मन्दिर, माङहिम, गुम्बा र संस्कृत पाठशाला स्थापना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।