कालेबुङ- पक्राउको डरले बङ्गाल पुलिसदेखि जोगिन जङ्गल पसेका गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरूङले बुधबार अचानक दार्जीलिङको सुमेरू मञ्चबाट भाषण दिए।
केही दिनअघि पार्टीलाई घात गरेको आरोपमा आफैँले निकालेका नेता विनय तामाङ र अनित थापाको नाम काडेर उनले भने, ‘भूल सुधारेर पार्टीमा आऊ, पार्टीको ढोका खुल्ला छ।’
अचानक सुमेरुमञ्च अघि मानिसहरूको भीड जम्यो। उनीहरूले मञ्चतिर हेरे तर विमल गुरूङ देखेनन्। वास्तवमा विमल गुरूङ स्वंय मञ्चमा थिएनन्। भाषण दिइरहेको आवाज विमल गुरूङले रेकर्ड गरेर पठाएको अडियो थियो।
२० मिनटको यो अडियोको जनसभामा उनका समर्थकहरू खचाखच देखिए। माइकमा बजिरहेको अडियोबाट गुरूङले निक्कै मार्मिक कुरा गरिरहेका थिए। माइक बजेको सुनेपछि दार्जीलिङ पुलिस अधिक्षक अखिलेश चतुर्वेदीको पनि होस् उड्यो। उनी दलबलसहित सुमेरू मञ्च पुगे। तर उनले विमल गुरूङ होइन, उनी बोलेको अडियो मात्र फेला पारे।
सँधै पुलिससित भाग्ने जनता विमलको २० मिनटको अडियो भाषण सकेर पनि चल्मलाएनन्। न त सँधैजस्तो पुलिसले भाषण सुन्नेहरूलाई खेदाउन नै सक्यो। पुलिस आएपछि बोल्दै गरेका विमल गुरूङको अडियो बन्द भयो। त्यसपछि मानिसहरूले नारा लगाउन थाले- ‘जय गोर्खा जय गोर्खाल्यान्ड, वी वान्ट गोर्खाल्यान्ड।’
गुरुङले अडियोमार्फत के-के भने?
दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकका सम्पूर्ण जनतालाई गोजमुमोको तर्फबाट प्रणाम। जनताले जाति उन्मुक्तिका लागि दिएको योगदान सराहनीय छ। तर, अहिले दार्जीलिङ पहाड़को राजनीतिक स्थिति जसरी परिवर्तन भएको छ, यसलाई जनताले खुट्याउन सक्नुपर्छ। हिजोसम्म एउटै थालमा खाना खाने केही भाइहरु अलग-अलग भएका छन्। तर उनीहरुलाई भावी सन्तानले अवस्य धिक्कार्नेछन्।
यो जनताको आन्दोलन हो, कसैलाई सांसद, विधायक, सभासद बनाउने आन्दोलन होइन। तर हाम्रा केही भाइहरुले बंगालको आइसक्रिम खाएर पहाड़को खोले-सिस्नु भुलेका छन्। जनता सतर्क बस्नुपर्छ, जसले जातिलाई बेचेर स्वार्थपूर्तिको काम गर्दैछन्, उनीहरुलाई जनताले फ्याँक्नुपर्छ। हिजोसम्म गोर्खाल्यान्डको आवाज बुलन्द गर्ने भाइहरू बंगालको षड़्यन्त्रमा लागेर आफ्नै दाजु-भाइहरुलाई पक्राउने काम गर्दैछन्। तर जनता आफ्नो जातीय अस्मिता रक्षाका लागि अलिकति पनि डराएका छैनन्, उनीहरु गोर्खाल्यान्डको लागि सडकमा निस्किएका छन्।
आज कति डरलाग्दो दुःख भोगेर बसिरहेको छु, म यो कसलाई भन्नु। यी सबै कुरो भगवानले देख्नेछन्। बंगाल सरकारले जस्तै षड्यन्त्र किन नगरोस्, हामी छुट्टै राज्य गोर्खाल्यान्ड लिएरै छोड्नेछौं। यसका लागि सम्पूर्ण जनता सडकमा आएका छन् अनि उनीहरुले पनि कठोर समस्याको सामना गरिरहेका छन्।
अनित थापाको घरको सिन्टेक्समा पैसा पायो भन्ने हल्ला फैलिँदा उनलाई बचाउने दाजुलाई लात लगाएर बंगालसित अँगालो हाल्छौ? धेरै भूल गरिरहेछौ भाइ, अब भूल नगर। अब आफ्नो भूल सुधार्छौ भने माफी गर्नेछौं। यदि तिमी पुनः गोर्खा जनमुक्ति मोर्चामा फर्किन सक्छौ भने फर्क भाइ। बंगालसित हात मिलाएर कति दिन बस्छौ? बंगाल पुलिसले कति दिनसम्म सुरक्षा दिन्छ? हामी मर्दाको मलामी, बिहेको जन्ती हौं। हामी आफ्नै घरको खिचड़ी खाउँ। जातिका लागि मिलेर काम गरौं। फर्क भाइ हो, त्यो दलदलबाट, त्यो दलदलमा पस्यौ भने कहिले फर्किन सक्नेछैनौं।
भाइ विनय तामाङले आफूलाई मार्नका लागि हामीले नेपालबाट दुईजना सुटर ल्याएको छ भन्ने आरोप लगाएका छन्, यो सरासर झुटो हो। विनय भाइ, यस्तो नसोच्नु। हामीले सन् २००७ देखि गणतान्त्रिक रूपमा गोर्खाल्यान्डका लागि आन्दोलन गरिरहेका छौं, अनि गणतान्त्रिक रूपमा नै यो आन्दोलन अघि बढ्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।