काठमाडौं– माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा भदौ १६ को मध्य राति रञ्जित तामाङ निर्वाचित भए। संगठनको इतिहासमै पहिलो पटक झापाका तामाङ निर्वाचनको प्रक्रियाबाट अध्यक्ष छानिए।
तामाङको विजयलाई सामान्य मानिसले स्वभाविक प्रक्रियाको रुपमा लिएका होलान। तर, माओवादी केन्द्रको आन्तरिक राजनीतिमा यसले ठूलो महत्व राख्ने पक्का छ। तामाङको विजय वास्तवमा रोल्पा र रुकुमबीचको लडाई थियो।
सबैलाई उटपट्याङ लाग्न सक्ला, झापाका तामाङको विजयमा रोल्पा र रुकुमको के साइनो होला?
तर होइन, क्रान्तिकारीको अध्यक्ष नियुक्त भएपछि तामाङलाई सबैभन्दा पहिलो धाप दिने माओवादी नेता थिए, रोल्पाका वर्षमान पुन। पुनको आर्शिवाद हुँदैन्थ्यो भने, सायदै तामाङले अध्यक्षमा प्रतिस्पर्धा गर्थे।
तामाङलाई अध्यक्षमा चुनौती दिने अर्का प्रत्यासी थिए, रुकुमका अनिल शर्मा। जो गृहमन्त्री जनार्दन शर्माका सहोदर भाइ हुन्। त्यतिबेला गृहमन्त्री शर्मा विद्यार्थी ‘फ्र्याक्सन’ का इन्चार्ज थिए। झन्डै एक वर्षअघि आरसी न्यौपानेलाई अध्यक्षमा मनोनित गर्दा शर्माको योजना थियो, आफ्नो भाइलाई क्रान्तिकारीको भावी अध्यक्ष बनाउने। तर, शर्माको ‘गेम प्लान’ विरुद्ध भित्रीरुपमा नेता पुनलगायत अन्य रोल्पालीहरुले मोर्चाबन्दी सुरु गरे।
अनिल शर्मालाई हराउन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले समेत ठूलै चलखेल गरेको उनी निकट बताउँछन्। ‘महरा र पुनको राजनीतिक प्रतिस्पर्धा आफ्नो ठाउँमा होला। तर, रुकुमविरुद्ध लड्नु पर्दा रोल्पालीहरु एकजुट हुन्छन्,’ माओवादी केन्द्रका एक पोलिटब्युरो सदस्य भन्छन्, ‘यस पटक पनि उनीहरुले त्यही चरित्र देखाए। रुकुमविरुद्ध लड्न उनीहरु दुवै आ–आफ्नो ठाउँबाट सक्रिय भए।’
क्रान्तिकारीको सम्मेलनमा योभन्दा पृथक अर्को दृश्य पनि देखियो। त्यो के भने, दुई पूर्व लडाकू कमाण्डरले यस सम्मेलनलाई आफ्नो प्रतिष्ठाको विषय बनाए। यी दुई कमाण्डर थिए, वर्षमान पुन र जनार्दन शर्मा।
लडाकूलाई नेपाली सेनामा समायोजन गर्ने बेलासम्म दुवै माओवादी नेता डेपुटी कमाण्डर थिए। द्धन्द्धकालमा पुनले पश्चिमदेखि पूर्वसम्मको सैन्य कमाण्ड हेर्थे भने शर्माले जाजरकोटको पिलीदेखि गण्डक क्षेत्रसम्मको मोर्चा सम्हालेका थिए।
अखिल सम्मेलनमा दुई कमाण्डरबीचको यो रोचक प्रतिस्पर्धापछि एउटा कुरा भने उजागर भएको छ, माओवादी केन्द्रभित्र कसरी पूर्व लडाकूहरु हावी हुँदैगइरहेका छन्?
‘पार्टीभित्र सबैभन्दा बढी कोही हावी भएको छ भने ती लडाकू कमाण्डर नै हुन्,’ जनयुद्धकालमा बटालियन कमिसार रहेका एक पोलिट्ब्युरो सदस्य भन्छन् ‘अध्यक्ष प्रचण्ड पार्टीभित्र सबैभन्दा बढी कोहीसँग डराउँछन भने लडाकू कमाण्डर नै हुन्।’
उनका अनुसार बम, बारुद, गोलीसँग खेलेका, जुनसुकै हतियार चलाउन जान्ने लडाकू कमाण्डरलाई बिच्क्याँइयो भने आफूमाथि अनिष्ट आईलाग्न सक्ने मनोविज्ञानबाट प्रचण्ड सबैभन्दा क्रसित देखिन्छन्।
प्रचण्डको मनोविज्ञानलाई नजिकबाट नियालेका कमाण्डरले उनलाई रिझाएर, प्रभावमा पारेर वा धम्क्याएरै सबैभन्दा बढी लाभको पद लिएको ती पोलिटब्युरो सदस्यको निश्कर्ष छ।
अहिले माओवादी केन्द्रभित्र यस्तो अवस्था श्रृजना भइसक्यो, पार्टीको महत्वपूर्ण निर्णय पार्टी कार्यालय पेरिसडाँडामा नभई प्रचण्ड निवास लाजिम्पाटबाट हुन थालेको छ, पूर्व लडाकूहरुको रोहवरमा।
यसको जल्दोबल्दो उदाहरण ०७२ सालको असोजमा प्रचण्ड निवास लाजिम्पाटमा बसेको पार्टीको बैठकलाई लिन सकिन्छ। पार्टी कार्यालय पेरिसडाँडामा त्यतिबेला सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न नसकेपछि प्रचण्ड निवासमा बैठक बसेको थियो। त्यो पनि पूर्व लडाकूको रोहवरमा।
यही बैठकमा पूर्व लडाकू प्रमुख नन्दबहादुर पुन ‘पासाङ’ यति आक्रामक रुपमा प्रस्तुत भए, यसको कल्पना बैठकमा बस्ने कुनै सदस्यले गरेका थिएनन्। उनले आफूलाई उपप्रधान तथा गृहमन्त्री पद नदिए जे पनि गर्ने धम्की घुमाउँरो भाषामा दिएका थिए।
‘हिजो दुश्मनविरुद्ध प्रयोग गरिएका हात–हतियार अहिले नेतृत्वविरुद्ध पनि प्रयोग हुन सक्छन। मैले धेरै पटक सहेको छु। सहनुको पनि हद हुन्छ,’ बैठकमा पुनको चेतावनी थियो, ‘यस पटक उपप्रधान र गृहमन्त्री मलाई बनाइयोस्। अरुभन्दा मेरो क्षमता कम छैन्।’
तर, पुनलाई गृहमन्त्री बनाउन समस्या थियो। उनी सांसद थिएनन्। भर्खरै जारी गरिएको संविधानमा सांसद नरहेको व्यक्तिलाई मन्त्री बनाउन नसकिने प्रष्टै किटान गरिएको थियो। बैठकको रस्साकस्सीका बीच पुनलाई सांसद बनाउन सकिने बाटो छ÷छैन प्रचण्ड एकछिन घोत्लिएका थिए। त्यो संभावना नरहेको कानुनी सल्लाह पाएपछि उनलाई उपराष्ट्रपति बनाउने सहमति बनेको थियो।
त्यसबेला प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार बनेका चक्रपाणी खनालले पनि लगभग पुनकै बाटो अख्तियार गरेका थिए।
स्रोतको दावीअनुसार प्रचण्डले केही लडाकू कमाण्डरलाई च्यापेकै परिणाम माओवादी पार्टी पटक–पटक विभाजन भएको हो। निरन्तर राजनीतिक मोर्चामा खट्दै आएका कृष्णबहादुर महराबाहेक प्रचण्ड प्रायः लडाकूकै सल्लाहमा चल्ने गरेका छन्।
त्यसैले संगठनको मोर्चामा खटिएकाहरु लाजिम्पाटमा आफ्नो कुराको सुनुवाई प्रभावकारी ढंगले नहुने भन्दै चित्त दुखाउँछन्।
नेपाली सेनामा समायोजन हुने बेला ११ सदस्यीय लडाकूको हेडक्वाटरमध्ये सरकारी लाभको पदमा नपुगेका तीनजना मात्र छन्। लडाकू प्रमुख पासाङ, तीन डिपुटी कमाण्डर अनन्त, जनार्दन, चत्रपाणीले राम्रै अवसर पाईसकेका÷पाईरहेका छन्। यो सूचीमा तुलनात्मक रुपमा कम अवसर पाउने चक्रपाणी मात्र हुन्।
लडाकूका सात डिभिजन कमाण्डरमध्ये चार जना मन्त्री÷सांसद भइसकेका छन्। तीन जना मात्र अवसरबाट बञ्चित छन्। ती हुन्, तेस्रो डिभिजन कमाण्डर धनबहादुर मास्की, चौथो डिभिजन कमाण्डर तेजबहादुर ओली र पाचौं डिभिजन कमाण्डर कालीबहादुर खाम।
सरकारी लाभको पदमा नपुग्ने यी तीनै कमाण्डर वाह्य र आन्तरिक पंक्तिभित्र निकै ‘बदनाम’ छन्।
खाम कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठ हत्या र गोंगबुस्थित नयाँ बसपार्कको एक गेष्ट हाउसबाट चिनियाँ व्यापारी लुट काण्डका अभियुक्त हुन्। जो प्रहरीको सूचीमा फरार छन्। भलै उनी माओवादी केन्द्रका नेताहरुको संरक्षणमा छन् र पोलिटब्युरो सदस्यको जिम्मेवारी यथावत छ। उनले चढ्ने गरेको गाडी चोरीको भन्दै प्रहरीले नियन्त्रणमा पनि लिएको थियो।
अर्का कमाण्डर ओलीलाई शिविरको रकम हिनामिना गरी व्यक्तिगत प्रायोजनका लागि अन्यत्र पैसा लगानी गरेको आरोप छ। उनी मातहतका लडाकूले नवलपरासीस्थित चौथौ डिभिजन मुख्यालयमा उनी चढ्ने हुण्डाई कम्पनीको आई टेन गाडी नै जलाई दिएका थिए। यो घटनामा उनी उम्किन सफल भएका थिए। ओलीले प्रयोग गर्ने चोरीको गाडी प्रहरीले एक पटक काठमाडौंको नक्सालबाट नियन्त्रणमा लिएको थियो। जुन गाडी पछि लिलामी गरियो। सरकारी लाभको पदमा नपुगे पनि ओलीकी श्रीमती जुनकुमारी रोका सभासद् भइसकेकी छन्। ०६४ को संविधानसभामा रोका रुकुमबाट प्रत्यक्ष निर्वाचित भएकी थिईन। सांसद रहेकै बखत चोरीको गाडीमा सवार रोका ज्ञानेश्वर ओरालोबाट पक्राउ परेकी थिईन। पछि गाडी मात्र नियन्त्रणमा लिएर प्रहरीले उनलाई छोडिदिएको थियो।
सुरुमा दोस्रो र पछि तेस्रो डिभिजनको कमाण्डर रहेका मास्की युद्धकालमा बलशालीका साथै सौखिन कमाण्डरमा गनिन्थे। लडाकू शिविरमा बस्न थालेपछि ठूलो अनियमितता गरेको आरोप उनीमाथि लागेको थियो। ०६९ साउनमा भृकुटी मण्डपमा भएको सातौं विस्तारित बैठकमा लडाकूहरुले शिविरको भ्रष्टाचार छानविन गर्नु पर्ने माग गर्दै कुर्सी प्रहार गरेका थिए। यसपछि प्रचण्ड छानविन समिति बनाउन बाध्य भए। छानविन समितिले मास्कीले ३ करोड रुपैयाँ हिनामिना गरेको र त्यो रकम पोखरा लगेर क्रसर उद्योग, एस्काभेटर खरिदमा लगानी गरेको जनाउ दिएको थियो। यसपछि उनले २ करोड रुपैयाँ फिर्ता गरेको एक कमाण्डर बताउँछन्।
शान्ति प्रक्रियामा सहभागी हुनुअघिको तथ्यांक हेर्ने हो भने माओवादी केन्द्रभित्र लडाकूको झन् ठूलो हिस्सा लाभको पदमा आसिन भएको देखिन्छ। वर्तमान सभामुख ओनसरी घर्ती नै लडाकूको पूर्व ब्रिगेड कमिसार हुन्। माओवादीले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ योजना सार्वजनिक गरेपछिको चौथो डिभिजन कमाण्ड, जुन गण्डक क्षेत्रमा परिचालित भएको थियो, त्यसका कमाण्डर गणेशमान पुन केपी ओली नेतृत्वको सरकारमा आपुर्ती मन्त्री भइसकेका छन्। उनी रुकुमबाट निर्वाचित सांसद समेत हुन्। उनकी श्रीमती पूर्व ब्रिगेड कमिसार कमला रोका पनि युवा तथा खेलकुल मन्त्री बनिसकेकी छिन्। पूर्व ब्रिगेड कमिसार गोपी अछामी पनि राज्य मन्त्री भइसकेका छन्। ‘पार्टीमा होस् वा सत्तामा ठूलो संख्यामा लडाकूहरुको जर्वजस्त प्रभाव छ,’ एक सचिवालय सदस्य भन्छन् ‘पार्टीमा यस्तो सैन्यवाद हावी हुनु त्यति राम्रो कुरा होईन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।