काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दम्पत्तीका एक मात्र छोरा प्रकाश दाहालको पार्थिक शरीर आर्यघाटमा खरानी भएको छ। भनिन्छ, ‘मानिसले जन्मँदा एउटा मात्र अधिकार लिएर आएको हुन्छ। र त्यो हो मृत्यु। तर, त्यो मृत्यु कुन समयमा, कति उमेर, कस्तो काम गर्दा भयो? त्यसले धेरै ठूलो महत्व राख्छ।’
यस अर्थमा प्रचण्ड पुत्र प्रकाशको मृत्युले ठूलो अर्थ राखेको छ। धर्ती टेकेको ३५ वर्ष ९ महिना २५ दिनमै प्रकाशको भौतिक शरीर सदाका लागि विलय भएको छ। अर्थात् लाऊँलाऊँ खाऊँखाऊँको उमेरमै मेडिकल विज्ञानको परिभाषामा ‘आकस्मिक हृदयघात’बाट आइतबार बिहानै उनको मृत्यु भयो। यो आकस्मिक खबरले यत्रतत्र चासो र सन्नाटा छाइरहेको छ। चासो स्वभाविकै हो। किनकि, केही दिन अघिसम्म प्रकाश सञ्चार माध्यमको मोहडामा बाबु प्रचण्डको अघिपछि खटिरहेका देखिएका थिए। तर, आइतबार बिहान सूर्यले पखेँटा फिँजाउन नभ्याउँदै प्रकाशले धर्ती त्यागिसकेको खबर पत्याउन एकछिन गाह्रै भयो।
०३८ साल असार १७ गते चितवनमा जन्मिएका प्रकाशको नागरिकताको नाम साकार दाहाल हो। उनी व्यक्तिगत संगतमा एकदमै शालीन र शिष्ट स्वभावका थिए। पछिल्ला दिनमा प्रकाशले बाबु प्रचण्डको सामान्य रक्तचापदेखि स्वास्थ्यसम्म एकदमै ख्याल गर्ने गरेका थिए। प्रचण्डको रक्तचाप बढेको बेला पार्टी, सरकार वा कर्मचारीतन्त्र, जुनकुनै ओहोदाका व्यक्ति भए पनि भेटघाट, भलाकुसारी बन्द गरिदिन्थे।
उनको भनाइ हुन्थ्यो, ‘माफ गर्नु होला। अहिले डाक्टरले बुबालाई कसैलाई भेटघाट गर्न नदिनुस् भन्नु भएको छ।’ बाबुका बारे यति धेरै ख्याल गर्ने प्रकाश आफैं भने स्वास्थ्यमा लापरबाही गरेकै कारण संसारबाट बिदा भएका छन्।
प्रचण्डको नेतृत्वमा ०५२ फागुन १ गते सशस्त्र विद्रोह सुरु हुदाँ प्रकाश काठमाडौंको गोंगबुमा दिदीहरुसँग बसेर पढ्दै थिए। सुरक्षा निकायले प्रचण्डका सन्तान राजधानीमै रहेको सुइँको पाएर चासो राख्न थालेपछि ‘जनयुद्ध’ सुरु भएको ८ महिनामै ०५३ असोजमा उनीसहित दुई दिदी रेणु र गंगालाई भारत लगियो। ०५३ माघमा एकै लगनमा प्रचण्डले छोरीहरु रेणु र गंगाको विवाह गरिदिए।
माइली छोरी रेणुको गुल्मी पुख्र्यौली घर भई भारतीय सेनामा जागिर खाएर पञ्जावमा घर जोडेका टिबी पाठकका छोरा अर्जुनसँग र कान्छी गंगाको सिक्किमका नारायण प्रधानसँग विवाह भएको थियो। त्यसपछि प्रकाशले माईली दिदी रेणुको घर पञ्जावमा बसेर १२ कक्षासम्म अध्ययन पूरा गरे।
०५८ मा माओवादीको पूर्णकालीन कार्यकर्ता भएर ‘हेडक्वार्टर’ अर्थात् पिता प्रचण्डसँगै रहँदै आएका प्रकाश पछिल्लो समयमा पिताका निजी सचिव थिए। ०६२ फागुन १२ गते पार्टीकै नेता पोष्टबहादुर बोगटीकी कान्छी छोरीसँग भारतमै प्रकाशको औपचारिक विवाह भयो। उनीहरुको यो दाम्पत्य जीवन १६ महिना टिक्यो। ०६४ जेठ २२ गते सम्बन्ध विच्छेद भयो। त्यसपछि आमा सीताको पहलमा मावली गाउँ कास्की हेम्जाकी सिर्जना त्रिपाठीसँग ०६४ माघ ३ गते प्रकाशले दोस्रो विवाह गरे। सिर्जनाको कोखबाट ०६७ मंसिरमा छोरा जन्मिए। जसको जन्म दिन अस्तिका दिन अर्थात् मंसिर १ गते हो।
०६९ असार २३ गतेबाट प्रकाशको जीवनले ठूलै मोड लियो। त्यस दिन अपराह्नबाट विद्यार्थी नेतृ बिना मगरसँग बेपत्ता भएको सूचना प्रचण्ड र उनकी पत्नी सीताले पाए। बिना पनि अर्कैकी श्रीमती थिइन्। यसर्थ यो खबर सुन्नासाथ उनीहरूले प्रकाशलाई घर फर्काउन सकिन्छ कि भनेर लामै प्रयत्न गरे। तर, सफल भएनन्।
त्यसपछि असार २५ गते एकीकृत माओवादीको पोलिटब्युरो बैठकमा प्रचण्ड आफैंले प्रकाश बेपत्ता भएको घटनाको बेली बिस्तार लगाउँदै उनीमाथि कारबाहीको प्रस्ताव राखे। पोलिटब्युरो बैठकले उक्त प्रस्ताव अनुमोदन ग¥यो। ०६८ जेठ १६ गते प्रकाशसहितको टोलीले सगरमाथा आरोहण गर्ने घोषणा गरेको थियो। त्यो टोलीको एक सदस्य बिना पनि थिइन्। प्रचण्डकै अनुमतिमा प्रकाशले सगरमाथा आरोहणको कदम चालेका थिए।
सगरमाथा आरोहण गर्ने भएपछि ०६८ साउनबाट प्रकाशसहितको टोलीले नागार्जुनको डाँडामा ‘रक क्लाइम्बिङ’ को पहिलो सात दिने तालिम लिएको थियो। त्यही तालिमपछि प्रकाश र बिना प्रेमको चक्करमा फँसेका थिए। त्यसको एक वर्षपछि ०६९ जेठमा सगरमाथा आरोहण गरेर काठमाडौं फर्के लगत्तै १० वर्षदेखि बाबुको स्वकीय सचिवको जिम्मेवारीलाई ‘लात’ हान्दै प्रकाश बिनासँग ‘फरार’ भए।
प्रकाश–बिनाबाट करिब ३ वर्षका एक छोरा छन्। ०७० को माघबाट प्रकाशले फेरि बाबुको सचिवालयमा ‘इन्ट्री’ पाए। उनलाई पुनः सचिवालयमा भित्र्याउन प्रचण्ड त्यति इच्छुक थिएनन्। पत्नी सीताको दबाव सामु प्रचण्डको केही लागेन र प्रकाश सचिवालयमा फर्किए।
प्रचण्ड परिवारमा प्रकाशको आगमन ३ वटी दिदीपछि भएको थियो। तीन छोरीपछि जब छोरा प्रकाश जन्मिए, प्रचण्ड दम्पतीले सन्तान जन्माउने रहर त्यागेका थिए। यस दृष्टान्तले यो दम्पतीमा छोरा मोह चर्कै देखाउँछ।
प्रकाशको पहिलो कमजोरी काभ्रेको धुलिखेलस्थित मिराबेल होटलमा पोखिएको थियो। त्यहाँ उनले मादक पदार्थ सेवन गरी आफूलाई सम्हाल्न नसकेको अवस्थाको फोटो एक दैनिक पत्रिकाले प्रकाशन गरिदिएपछि प्रकाशका बारेमा सार्वजनिक टिप्पणी सुरु भएको थियो। प्रचण्ड दम्पत्तीको छोरो मोहकै कारण धेरै पुलपुल्याएकाले उनमा मादक पदार्थको कूलतदेखि सांस्कृतिक विचलनसम्म आएको भन्दै अभिभावकहरुप्रति कडा आलोचना हुने गरेको थियो। यस्तो आलोचना पछिल्लो समय मत्थर हुने क्रममा थियो।
पिताको सचिवालयमा दोस्रो पटकको पुनरागमनपछि भने प्रकाशले अघिल्लो पटकको जस्तो खरो आलोचना ब्यहोर्नु परेको थिएन। केही वर्षअघिसम्म प्रकाशले फेसबुकमा लेख्ने ‘स्टाटस’हरु अशिष्टस्तरका हुन्थे। पछिल्ला दिनमा उनले तर्कपूर्ण, तथ्यसंगत र सौम्य स्टाटसहरु लेख्न थालेका थिए।
यसले उमेरको सिँढी बढ्दै जादाँ प्रकाशमा पनि परिपक्वपन बढ्दै गएको देखिन थालेको थियो। जो कोहीसँग पनि चाँडै घुममिल हुने, बाबु प्रचण्डसँग भेटघाट गर्न चाहने पात्रहरुसँग नम्र बोली र व्यवहारले प्रस्तुत हुने प्रकाशको सबैभन्दा ठूलो गुण थियो। त्यसैले पनि व्यक्तिगत रुपमा भेटघाट, चिनजान, उठबस गरेकाहरु कसैले पनि प्रकाशलाई ‘खराब’ भनेर चित्रण गर्दैनन्।
प्रचण्डको एक्लो छोरा हुनुको नाताले अवश्य पनि प्रकाशले केही फाइदा उठाएका थिए भने केही बेफाइदा पनि व्यहोरेका थिए। फाइदा के भने, उनले बाबुको सचिवालयभन्दा बाहिर काम गर्नुपरेन। आफ्नो छोरो भएकैले प्रचण्डले उनलाई एउटा पनि फौजी मोर्चामा पठाएनन्। प्रकाशले अन्य छापामारहरुले जस्तो दुःखको पहाड झेल्नुपरेन। नेतृत्वमा होस् वा पहुँचमा, सहजै स्थापित भए। राम्रा–राम्रा अवसरहरु पाए। हरेक तह र तप्काका मानिसहरु उनलाई जी–हजुरी गर्थे। कारण प्रस्टै छ, पछिल्ला दिनमा त प्रकाशलाई खुसी बनाउन नसक्ने व्यक्ति जोकोही होस्, उसले प्रचण्डलाई भेट्नै सक्दैन थियो। प्रचण्डसँग भेटकै लागि पनि उनीसँग जो–कोही नतमस्तक हुन्थे।
बेफाइदा के भने, उनको निजी जीवनमाथि चियोचर्चो भइरह्यो। उनमा क्षमता नै हुँदा पनि योग्यताले भन्दा बाबुको कारण त्यो स्थानमा बस्न पाएको भनेर टिप्पणी हुन्थ्यो। तमाम् आलोचनाका बीच प्रकाशले पिता प्रचण्डको सचिवालयलाई यति मजबुत बनाएका थिए कि यतिबेलाका शीर्ष नेताहरुमध्ये आधुनिक प्रविधिले युक्त सचिवालय प्रचण्डकै थियो।
प्रचण्डका भेटघाट कार्यक्रम र गतिविधि क्षण–क्षणमा ‘अपडेट’ हुन्थे। मिडियालाई सहजै पहुँच दिन्थे। एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले होस् वा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले, धेरै कुरा प्रचण्डको सचिवालयबाट ‘कपी’ गरेको थियो। प्रचण्डको सचिवालय प्रकाशले नै ‘स्मार्ट’ बनाएका थिए।
उनी प्रचण्डका छोरा मात्र थिएनन्, युद्धकालमा सहयोद्धा र शान्ति प्रक्रियामा आएपछि सहकर्मी बनेका थिए। कतिपय अवस्थामा उनले प्रचण्डको सवारी चालकको भूमिकासमेत निर्वाह गरे। उनकै कारण प्रचण्डको दैनिकी व्यवस्थित बनेको थियो। आफ्नै छोरा भएकाले गोपनीयताको डर पनि हुँदैनथ्यो, प्रचण्डलाई।
प्रचण्ड परिवारमा करिब ३ वर्षअघि जेठी छोरी ज्ञानु केसीको स्तन क्यान्सरका कारण मृत्यु भएको थियो। अहिले ‘साइलेन्ट किलर’ अर्थात मौन हत्यारा भनिने उच्च रक्तचापलाई ध्यान नदिँदा छोरा प्रकाशको आकस्मिक ह्दयघातबाट निधन भएको छ।
प्रचण्ड दम्पत्ती लगातार जस्तो सन्तान वियोग खेप्न अभिशप्त बनेका छन्। पुत्र वियोगलाई छातीभित्र खिप्दै प्रचण्डले आफ्नो स्वकीय सचिवालमा अर्को व्यक्ति नियुक्त त गर्लान्, तर, त्यसले प्रकाशको शोधभर्ना भने कहिल्यै गर्न सक्तैन। किनकि छोराको नाताले प्रचण्डसँग प्रकाशको जति सहज पहुँच थियो, त्यो नयाँ नियुक्तले पाउनै सक्तैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।