काठमाडौं- लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको हत्या भएको १६ वर्ष बितेको छ। उनकी श्रीमती इन्दिराले अदालत, मानव अधिकारवादी संस्थासँग न्याय माग्दै र आन्दोलनमै यत्तिका वर्ष बिताइन्। श्रीमान्को सम्झनामा आँसु त उनको कति बग्यो हिसाबै छैन। २०५८ माघ ३ गते विद्यालय गएका मुक्तिनाथलाई रुखमा किन बाँधेर हत्या गरियो कसले कसको निर्देशनमा हत्या गरेको हो आजसम्म जान्न पाएकी छैनन्?
विद्यालयमा ज्ञान दिन गएको शिक्षकलाई विद्यार्थीको सामुन्ने गरिएको हत्यामा संलग्नहरु न्यायको कठघरमा उभिएको हेर्ने उनको अन्तिम धोको छ। वर्षौं बिते पनि उनले आस मारेकी छैनन्।
…
द्वन्द्वकालमा दुई छोरा गुमाएका रामेश्वर र रामकुमारी श्रेष्ठ दम्पतीको पनि एउटै इच्छा छ, हत्यारा जेल गएको हेर्ने। ओखलढुंगामा आफ्नो व्यवसाय गरेर बसेका श्रेष्ठ परिवारले कान्छो छोरो उज्जनलाई गुमाएको चार वर्षपछि जेठो छोरा गणेशलाई पनि गुमाए। २०५५ असार १० मा उज्जनको हत्या भएको थियो। उनीहरुले २०६९ मंसिर ६ मा गणेशलाई पनि गुमाउनुपर्यो। द्वन्द्वकालमा राजनीतिमा कतै नजोडिएका आफन्त मारिएको भन्दा अहिले उक्त कार्यमा संलग्नहरु खुलेआम चुनौती दिएर हिडिँरहेकोमा उनीहरुलाई धेरै पीडा भएको छ।
माओवादी नेता बालकृष्ण ढुंगेल नेतृत्वको टोलीले उज्जन र गणेशको हत्या गरेको थियो। सुराकी गरेको आरोप लगाउँदै तत्कालीन विद्रोही माओवादी कार्यकर्ता पुष्कर गौतम, बालकृष्ण लगायतले २०५५ असार १० गते उज्जनलाई गोली हानी हत्या गरेका थिए। स्थानीय व्यापारी रहेका उज्जनलाई सुरक्षाकर्मीलाई सूचना दिएको र माओवादीको सुराकी गरेको भनी मारिएको थियो। उनको हत्याको विषयमा प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको भनी उज्जनका दाजु गणेशको पनि हत्या गरियो।
आफ्ना आँखाअगाडि दुई छोरा गुमाएका श्रेष्ठ दम्पतीले १९ वर्षदेखि न्यायको लडाइँ लडिरहेका छन्।
द्वन्द्वकै कारण श्रेष्ठ परिवारले १० वर्षकी नातिनी समेत गुमाएका छन्। बाबुको नृशंस हत्याको प्रत्यक्षदर्शी बनेकी नातिनी मानसिक रोगी भएकी थिइन्। त्यसको केही वर्षमा उनले आत्महत्या गरिन्। गणेशलाई माओवादी कार्यकर्ताले खेतमा उनकै अगाडि दिउँसै गोली हानी मारेका थिए।
‘छोराहरुलाई मारे, ९० वर्ष काटेको म बूढालाई पनि सधैं मानसिक सन्त्रास दिए,’ रामेश्वर श्रेष्ठले भने, ‘सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन गरिपाऊँ भन्दा घरमै आएर धम्की दिन्छन्। के हामीले आफ्ना सन्तान पनि गुमाउनुपर्ने र न्याय पनि नपाउनुपर्ने हो?’
सर्वोच्च अदालतले तीन पटक उनीहरुको मुद्दामा अन्तिम फैसला सुनाइसकेको छ। तीनै पटक ढुंगेललाई सर्वस्व सहित जन्मकैदको निर्णय सदर भई फैसला कार्यान्वयन गर्न भनेको छ। तर उनी द्वन्द्वकालको घटना भन्दै फरार हुँदै आएका छन्।
…
हरेक वर्ष जेठ १३ मा ‘कृष्ण सेन स्मृति’ दिवस मनाइरहँदा श्रीमती तक्मा सेन एउटै मात्र सोचाइमा डुबिरहेकी हुन्छिन्, पतिलाई कसले र किन मारे? अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्रका लागि कलम चलाएकाले आफूलाई कसैबाट त्रास नरहेको बताउने सेनलाई किन अपहरण गरेर बेपत्ता पारी मारियो? १५ वर्षदेखि यही प्रश्नको उत्तर खोज्दाखोज्दै थाकिसकेको सेनले बताइन्। ‘अभिव्यक्ति स्वतन्त्रताका लागि कदम चलाउँदै आएका मेरो पतिलाई आतंककारी भनी किन मारियो? अहिलेसम्म जवाफ पाएको छैन,' उनले भनिन्, '१५ वर्ष किन र कुन अभियोगमा हत्या गरिएको हो, त्यसको खोजी गर्दै बिताएकी छु। सत्य जान्न र यसमा संलग्नहरुलाई कारबाही भए मैले न्याय पाउँछु।’
सेनलाई २०५९ जेठ ६ मा काठमाडौंको ह्वाइटहाउस कलेज नजिकैबाट पक्राउ गरिएको थियो। पक्राउ परेका उनलाई सुरक्षाकर्मीले माओवादीको बारेमा जानकारी माग गरेका थिए। आफूलाई कुनै जानकारी नभएको र पत्रकार मात्र भएको बताएपछि सेनलाई यातना दिँदै पक्राउको एक सातापछि जेठ १३ मा हत्या गरिएको थियो। तर ‘मृत्यु’ भएको जानकारी एक महिनापछि असार १२ मा मात्र दिइयो। माओवादी सर्मथनमा पत्रिका प्रकाशन गरेको अभियोगमा प्रहरीले सेनलाई पक्राउ गरेको थियो।
…
रामेछाप दोरम्बाकी रेटीमाई लामालाई सरकारमै रहेको आफू संलग्न पार्टीले पनि न्याय दिलाऊला भन्ने आस लाग्न छाडेको छ। युद्धमैदानदेखि निर्वाचनसम्म माओवादीमा क्रियाशील रहे पनि पार्टीले जनयुद्धमा भएका अन्यायमा न्याय दिलाउन सक्ने आस मारिसकेकी छन् उनले। यो अवधिमा पार्टीले देखाएको मौनताका आधारमा उनले यस्तो निष्कर्ष निकालेकी हुन्। तत्कालीन शाही सेनाले दोरम्बामा जनसरकार प्रमुख रहेका आफ्ना पिता बाबुराम लामासहित २१ जनालाई नियन्त्रणमा लिई हत्या गरेको थियो। दाङको हापुरेमा सरकारसँग वार्ता चलिरहेको बेला उनीहरुको हत्या भएको थियो। कतिपयलाई जिउँदै खाल्डो खनेर गाडिएको थियो।
आफ्ना पिताको हत्यामा कोको संलग्न थिए? उनीहरुलाई कानुनी कारबाहीको दायरमा आएको हेर्ने उनको इच्छा पार्टी सरकारमा गएसँगै पलाउने र बाहिरिएसँगै मर्ने गरेको छ। यो उपक्रम चलेकै १४ वर्ष भयो।
२०६० साउन ३२ गते सरकार र विद्रोही पक्षबीच युद्धविराम गर्ने सहमति भएको थियो। उक्त सहमतिपछि दोरम्बामा पार्टीको इलाका बैठक चलिरहेका बेला सेनाले उनीहरुलाई नियन्त्रणमा लिई हत्या गरेको थियो। द्वन्द्वकाल समाप्त भई २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएर माओवादी पटकपटक सरकारको नेतृत्वमा पुगे पनि आयोग बनाएर पन्छाउने बाहेक केही गर्न नसेकेको उनीहरुको गुनासो छ।
न्यायको खोजीमा भौंतारिइरहेका गोरखाकी इन्दिरा, रामेछापका श्रेष्ठ दम्पती र दोरम्बाका द्वन्द्वपीडितहरु प्रतिनिधि पात्र मात्र हुन्।
२०५२ देखि २०६२ सम्म चलेको सशस्त्र द्वन्द्वमा करिब ६० हजारभन्दा बढीमाथि मानवीय ज्यादती भएको छ भने तीन हजार बेपत्ता छन्। त्यसबेलाका घटना अध्ययन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा प्राप्त उजुरीहरुका अनुसार ६३ हजार मानिस गम्भीर अपराधको सिकार भएका थिए। त्यस्तै हजारौं घरपरिवार विस्थापित भएका छन्। सम्पत्ति कब्जा र अन्य अपराधबाट पीडित पनि सयौंको संख्यामा छन्।
(के गर्दैछन् आयोगहरु? बाँकी अर्को शृंखलामा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।