चितवन– छोरा प्रकाशको निधन भएको तेस्रो दिन बृहत् चुनावी आमसभामा सहभागी हुन माओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीतासहित मंगलबार भरतपुर पुगे। शोकसभामा परिणत गरिएको कार्यक्रममा भावपूर्ण बन्यो।
कार्यक्रममा पुत्रवियोगको पीडामा सीता मञ्चमै भक्कानिइन्। पिता प्रचण्डका आँखा पनि नरसाइरहन सकेनन्।
चितवनको बसपार्कमा राखिएको सभामा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँगै पुगेका प्रचण्ड गेटमै श्रद्धाञ्जलीका लागि राखिएको छोराको तस्बिर देख्नेबित्तिकै भावविह्ल भएका थिए।
उनी आफूलाई सम्हाल्दै मञ्चमा बसेका थिए। तर, उनीसँगै रहेकी पत्नी सीताले भने आँसु थाम्न सकिनन्। यसपछि सभाको पूरै माहौल एकछिन शोकमग्न बनेको थियो।
सीतासँगै प्रचण्ड पनि भावुक भएका थिए। उनले पत्नीलाई ढाडस दिएर सम्हाल्न खोजे। नजिकै बसेका एमालेका वरिष्ठ नेता नेपालले पनि सीतालाई सम्झाउने प्रयास गरेका थिए।
सीताको रुवाइसँगै मञ्चमा बसेकी प्रकाशकी श्रीमती बिना मगर र दुई दिदी रेणु र गंगा पनि भावविह्ल भएका थिए।
प्रकाशको आइतबार काठमाडौंमा निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।