असोज ११ नजिकिँदै गर्दा निर्देशक दीपाश्री निरौलामा धेरै उत्साह र केही डर छ। कलाकार, निर्मात्री हुँदै कमै नेपाली महिलाको उपस्थिति रहेको फिल्म निर्देशनसम्म आइपुगेकी छिन् उनी। आफ्नो कलायात्रामा पहिलो निर्देशकीय डेब्यु फिल्म 'छक्का पञ्जा'ले नेपाली फिल्म व्यापारका सारा मानक भत्काइदिएपछि प्राप्त खुसीहरू उनी बयान गर्नै सक्दिनन्। उनै दीपाश्री सोही फिल्मको सिक्वेल लिएर दसैंमा आउँदैछिन्। रिलिजअगाडि दर्शकमा फिल्मलाई लिएर रहेको आशाले उत्साहित बनाइरहेको बताउने उनलाई कतै दर्शकको अपेक्षा पूरा नहुने हो कि भन्ने डर पनि छ। फिल्म र फिल्मसँग पछिल्ला समय जोडिएका विवादका विषयमा निर्देशक दीपाश्री निरौलासँग अशेष अधिकारीले गरेको कुराकानी:
सिक्वेल बनाउँदाका फाइदा र घाटा के रहेछ?
घाटा-नाफा उति-उति हुने रहेछ। ब्रान्ड बनिसकेको हुनाले फिल्मका बारेमा धेरै प्रचार गरिरहनुपरेन। योसँगै चुनौतीचाहिँ दोब्बर हुँदो रहेछ। सिक्वेलले पहिले जस्तो सफलता पाऊला किन नपाऊला भन्ने पनि हुने।
नाफा भनेको फिल्मको सुरूवाती चरणमा हुने आक्रामक व्यापार हो। जुन हाम्रा अघिल्ला फिल्ममा उस्तो थिएन। त्यसपछि दर्शकलाई फिल्म मन नपरेर आउने प्रतिक्रियाले पार्ने प्रभावको खतरा पनि हो। मलाई चाहिँ फिल्मले आफ्नो पक्षमा नाफा नै धेरै पार्छ भन्ने विश्वास छ।
सिक्वेल भनिएको छ। पहिलेको कथासँगै जोडिन्छ यो पनि?
होइन। छक्का पञ्जाबाटै पात्रहरू उठाइएका हुन्। यसमा चाहिँ कथावस्तु नयाँ छ। फिल्मको कथामा पनि पात्रहरूका अनेक छक्का पञ्जा छन्। त्यही भएर ती पात्रहरू राखेर फिल्म बनाएका हौं। अब प्रत्येक वर्ष यसको सिक्वेल बन्छ, जसमा कथा फरक हुनेछ भने पात्र उही हुनेछन्।
यसको सिक्वलेका अलावा हाम्रो प्रोडक्सनले थप एक फिल्म बर्सेनि निर्माण गर्ने योजना बनाएको छ। राम्रो कथा दिने जो कोहीको कथामा हामी फिल्म निर्माण गर्छौं।
त्यसो भए 'छक्का पञ्जा ३' को तयारी सुरू भइसक्यो?
भइसक्यो। फिल्मको लागि एउटा गीत समेत लिइसक्यौं।
यसपटक फिल्मका दुवै गीत विवादमा तानिए। गीत चोरीको आरोप पनि लाग्यो। कसरी यस्तो हुन गयो?
पहिलो गीत 'नाइलनको साडी'को बेलामा हामी केही अँध्यारोमा थियौं, भयौं। अल्मोडाजीले हामीलाई यो गीत यसको भनेको भए हामी त्यसका लागि गर्नुपर्ने प्रक्रिया पुर्याोउँथ्यौं। हामी सर्जकको सम्मान गरने मान्छे हौं। जस्तो कि हामीले 'छक्का पञ्जा'मा फिल्ममा कुमार बस्नेत दाइको 'लै बरि लै' गीत उहाँको अनुमति लिएर नै राखेका थियौं। उहाँले हामीलाई मेरो सुतिसकेको गीतलाई ब्युँझाइदियौं भनेर भन्नुभयो। यसपटक हामीले पहिले चर्चित रहेका तर यो पुस्ताले नसुनेका गीत राखौं भन्दा अल्मोडाजीले गीत सुनाउनुभयो। हामीलाई मनपर्योक, राख्यौं।
कान्छा मगर नेपालीका नाति प्रिन्स मगरले यो गीत गाउने इच्छा अल्मोडाजीसँग राख्नुभएको रहेछ, जसलाई उहाँले मान्नुभएन, आफै गाउनुभयो। यो कुरा हामीलाई पछि थाहा भयो। त्यो थाहा हुनेबित्तिकै भोलिपल्ट हामीले नाम राख्यौं। हामीले आँखा चिम्लेर विश्वास गर्नाले यस्तो भयो। हाम्रो गल्ती यही हो। त्यो गल्तीलाई हामीले फिल्ममा राम्ररी सम्बोधन गर्नेछौं। यसमा हामीबाट थोरै गल्ती भएकै हो।
दोस्रो गीत पनि विवादमा आयो, यसपटक के भयो?
'झ्याम्म झ्याम्म' नितान्त सुदूरपश्चिमको गीत हो। पछि हामीलाई 'खुब लोकसंगीत बचाउने भएका, देख्यौ' पनि भने। हामीले हाम्रो संस्कृति बचाउनका लागि गरेका हौं। त्यसमा विस्मात् छैन। अर्को फिल्ममा पनि सुदूरपश्चिमकै गीत लिएका छौं।
बलिउडका पन्जाबी आदि गीतलाई आत्मसात गर्ने तर हाम्रो लोकगीतलाई किन नलिने भनेर 'झ्याम झ्याम' गीत लिएका हौं। पछि धेरै वटा यस्ता गीतका कुरा निस्किए। यसबारेमा संगीतकार सुरेश अधिकारीले नै स्पष्ट पारिसक्नुभएको छ। उहाँको गीत तामाङ सेलो र देउडाको सम्मिश्रण हो हाम्रो गीत देउडा र टप्पाको हो, जुन कुरा हामीले सुटिङका बेलामा नै भनेका थियौं।
दर्शकले फिल्मबाट कस्तो प्रतिक्रिया पाउने आशा छ?
पहिलो फिल्मप्रतिको उहाँहरूको प्रतिक्रिया र माया हामीले सोचेभन्दा धेरै नै पायौं। दुई रिलिज हुन बाँकी नै छ। करिब २ घन्टा २० मिनेट लामो फिल्मले दर्शकलाई बोर गर्दैन। मनोरन्जन दिनेमा म विश्वस्त रहेकाले यसपटक पनि मेरो भागमा माया नै पर्छ।
अघिल्ला फिल्ममा हामीलाई गम्भीर विषयलाई हाँसो नै हाँसोमा प्रस्तुत गरे भन्ने प्रतिक्रिया पाएका थियौं। यसपटक फिल्मको धारमा नै बसेर बनाउने प्रयास गरेका छौं। पहिलो फिल्मभन्दा फरक छ। हेरिरहँदा कहीँकहीँ फिल्म 'छक्का पञ्जा' जस्तो लाग्छ भने कहीँ होइन फरक फिल्म हेरिरहेको छु भन्ने दर्शकलाई हुनेछ। अघिल्लोचोटि फिल्ममा उमेर पुगेकाहरूको कथा थियो भने यसपटक युवा पुस्ताको 'छक्का पञ्जा' ल्याएका छौं। यद्यपि यो सबैका लागि बनाइएको फिल्म हो।
व्यापार पनि पहिलो जस्तै होला त?
व्यापार हामीले जहिले पनि दोस्रोमा राखेका छौं। हामीलाई 'छ एकान छ' बनाउँदा दर्शकले नराम्रो नभनून् भन्ने थियो भने 'वडा नम्बर ६' बनाउँदा पहिलो फिल्म भन्दा राम्रो छ भनिदिऊन् भन्ने थियो। 'छक्का पञ्जा' बनाउँदा पनि अघिल्ला फिल्मभन्दा राम्रो फिल्म भनून् भन्ने थियो।
त्यो आजसम्म भएको छ। त्यो मात्रा नघटोस्, कम्तीमा गरेको कामले जस पाइयोस् भन्ने छ। हामीमाथि राम्रो फिल्म दिनुपर्छ भन्ने आशालाई पूरा गर्ने चुनौती छ। पैसा त आइहाल्छ।
युवापुस्ताको कथा भन्नुहुन्छ। फिल्मका युवाचाँहि फिल्म प्रचारमा कम देखिएका छन्। किन?
स्वस्तिमा हिडिँरहनुभएको छ। स्वरूपजी भारतमा मोडलिङमा व्यस्त हुनुहुन्छ। ट्रेलरमा पनि अन्य कलाकार रहेको देख्नुहुन्छ। फिल्म रिलिजपछि थप कलाकार सार्वजनिक हुनुहुनेछ। फिल्मको मार्केटिङ योजना अनुसार गरिरहेका छौं। नदेखिएको भन्ने होइन।
'छक्का पञ्जा' अन्तिममा पर्दामा देखिएर सबैभन्दा बढी ताली पाउनुभयो। यसपटक पनि त्यस्तै हुन्छ?
यसपालि दुई वटा कुरा छ। केहि सिन सुटिङ गर्न बाँकी नै छ। म आउँदिन भनिरहेको छु तर साथीहरूले आउनुपर्छ भन्नुभएको छ। हेरौं के हुन्छ, ठेगान छैन।
अन्त्यमा, तेस्रो सिक्वेल बन्ने भनिसक्नुभएको छ। सुटिङ कहिलेदेखि हुन्छ? विषयबारे भनिदिनुस् न।
फागुन-चैतबाट सुरू हुन्छ। यसमा पनि सामाजिक कुरीतिमाथि हामीले फिल्म बनाउनेछौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।