इनरुवा– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अगाडि बढाउनका भ्रष्टाचारविरुद्धको आन्दोलन आवश्यक रहेको बताएका छन्।
सुनसरी सदरमुकाम इनरुवामा आज ‘राष्ट्रिय उराँव करम महोत्सव’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सुशासन कायम गर्नका लागि विकृति, विसंगति र भ्रष्टाचारलाई अन्त्य गर्नुपर्नेमा जोड दिए। नेता पौडेलले भने, ‘विगतमा राजाविरुद्ध, राणाविरुद्ध र शासकविरुद्धको आन्दोलन भएकामा अब भ्रष्टाचारविरुद्धको आन्दोलन आवश्यक छ।’
उनले देश विकासका लागि सबै जातजाति, भाषाभाषी र वर्गको कलासंस्कृतिको संरक्षण तथा सबै धर्म र संस्कृतिको सम्मान र विकासमा जोड दिए। करम महोत्सव संयोजक सूर्यदेव दास उरावँको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका जिल्ला सभापति राजीव कोइरालाले करम महोत्सवका अवसरमा एक दिन सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।