काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।
राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको घोषणापत्रमा राजपा नेकपा एमालेप्रति नरम र माओवादी केन्द्र र कांग्रेसप्रति आक्रामक देखिएको छ।
राजपाले माओवादी केन्द्रलाई लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने दलको संज्ञा दिइएको छ । कांगेसलाई मुख्य प्रतिस्पर्धीको रुपमा लिँदै आफूलाई निर्वाचनमा ल्याउन नचाहेको राजपाको विश्लेषण छ । यद्यपि जनताको मागका कारण निर्वाचनमा आएको घोषणापत्रमा उल्लेख छ।
कांग्रेस लोकतान्त्रिक प्रणाली, संघीयता र समावेशी लोकतन्त्रका लागि प्रतिबद्ध भए पनि मधेसमैत्री नभएको आरोप राजपाले लगाएको छ।
राजपा एमालेप्रति भने अस्वाभाविक रुपमा नरम देखिएको छ । एमाले मधेस विरोध पार्टी भन्दै मधेसमा आन्दोलन नै गरेको दलले एमालेप्रति कुनै गुनासो नरहेको जनाएको छ।
घोषणापत्रमा अन्य पार्टीहरुबारे राजपा नेपालको दृष्टिकोण शीर्षकमा राजपाले कांग्रेस र एमालेभन्दा माओवादीका लागि बढी शब्द खर्च गरेको छ।
माओवादी केन्द्र लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टी भएको राजपाको बुझाइ छ।
‘शक्तिका बलमा सत्ता कब्जा गर्ने नीतिबाट यो पार्टी सञ्चालित छ, माओवादीको मूल चरित्र संघीयता विरोधी हो', घोषणापत्रमा भनिएको छ, 'ऐतिहासिक जनआन्दोलनका क्रममा सहिद रमेश महतोका हत्यारा र ५२ जना मधेसी सहिद सपुतहरूको हत्याका लागि समेत मुख्य जिम्मेवार माओवादी केन्द्र नै हो।'
राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले भने माओवादीलाई अलोकतान्त्रिक पार्टी भन्न नमिल्ने बताए । उनले आफ्नो पार्टी कुनै पार्टीको पक्ष र विपक्षमा नरहेको स्पस्ट पारे।
राजपाले एमालेलाई संघीयता र समावेशीको विरोधमा रहेको ढुलमुले चरित्र बोकेको र मधेसप्रति अनुदार पार्टी भएको आरोप लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।