काठमाडौं– उपत्यकामा आज वाम गठबन्धनले सभा गर्दैछ। यसका लागि नेता-कार्यकर्ताहरुले ललितपुरको लगनखेल बसपार्क र नयाँ बानेश्वरको मुख्य सडक नै कब्जा गरेका छन्।
दुवै सभामा एमाले र माओवादी केन्द्रका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। ती सभामा केपी शर्मा ओली, माधवकुमार नेपाल तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्।
कार्यक्रमको मञ्च निर्माण गर्नका लागि पार्टीका कार्यकर्ताहरु बिहानैदेखि खटिएका थिए। उनीहरुले सडक परिसर खाली गरेर मञ्च बनाउने तथा झन्डा, ब्यानर टाँग्ने काम गरेका थिए।
उनीहरुले कार्यक्रम स्थल र वरपरको सडक कब्जा गरिरहँदा सर्वसाधारण तथा सवारीसाधनको आवतजावतमा असर परेको छ। सवारीसाधन अर्को रुट प्रयोग गर्न बाध्य भएका छन्।
पूर्व अर्थसचिव रामेश्वर खनालले गठबन्धनको सभाका कारण भएको सडक अवरोधलाई व्यंग्य गर्दै ट्विट गरेका छन्– 'बानेश्वरमा देश विकास हुन ला’रैछ, अब डिल्लीबजार भएर सिंहदरबारतिर लाग्नुपर्यो।'
कार्यक्रमको सुरक्षाका लागि प्रहरीहरुको पनि बाक्लो उपस्थिति छ। उनीहरुले पैदल यात्रु तथा सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न सुझाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।