रसुवा- विनाशकारी भूकम्प गएको ३१ महिना पुग्यो। रसुवाको सदरमुकाम धुन्चेस्थित जिल्लाकै सरकारी अस्पताल भने पुनर्निर्माण नहुँदा अस्थायी टेन्टमार्फत सञ्चालन भइरहेको छ।
अस्पताल निर्माणको जिम्मा पाएको नेपाल रेडक्रस सोसाइटी रसुवाले समयमै निर्माण पूरा नगर्दा टेन्टमै अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ। अस्पतालको ८ वटा टेन्टमार्फत सञ्चालन भइरहेको छ।
गत बैसाख १२ गते भवन निर्माण गरी हस्तान्तरण गर्ने योजना बनाएको रेडक्रस रसुवाले प्राविधिक कारण देखाउँदै मिति सारेर असारमा हस्तान्तरण गर्ने जनाएको थियो। थप समयमा पनि भवन नबन्दा बिरामी तथा स्वास्थ्यकर्मीले सास्ती खेप्न बाध्य भएका छन्।
अहिले अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। सुरक्षित भवन नहुँदा प्रभावकारी उपचारबाट उनीहरु वञ्चित छन्। कुरुवा र स्वास्थ्यकर्मी नै बिरामी हुने अवस्था सिर्जना हुँदै आएको छ।
बिरामीलाई सुताउने स्थान साघुँरो र चिसो हुँदा समस्या भएको गोसाइँकुण्ड गाउँपालिकास्थित ठूलोभार्कुका दावा तामाङले बताए। जाडो महिना सुरु भइसके पनि भवन नबन्दा बिरामीलाई झन् समस्या परेको उनले गुनासो गरे।
टहरामा बिरामीको उपचार गर्दा कुरुवासमेत बिरामी हुनुपर्ने अवस्था आएको कुरुवा रमेश न्यौपानेले बताए। 'बिरामी त बिरामी छन्। त्रिपालमुनि बस्दा हामी आफैं बिरामी भएर बस्नुपर्ने अवस्था छ,' उनले भने।
२५ शैया रहेको जिल्ला अस्पतालमा बहिरंग र आकस्मिक गरेर दैनिक ७० जनासम्म बिरामीले सेवा लिने गरेको अस्पताल प्रशासनले जनाएको छ। भौतिक संरचना अव्यवस्थित हुँदा चिकित्सकहरुलाई कार्यक्षेत्रमा खटिन समस्या भएको र सुरक्षाका कारण मनोबल कमजोर बनेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणनिधि शर्माले बताए।
रसुवा रेडक्रसले २०७३ मंसिरदेखि भवन निर्माणको काम थालेको थियो। ४ करोड २४ लाख लागतमा थालिएको निर्माणाधीन अर्धपक्की भवनमा अस्पतालका लागि १५ कोठा र कर्मचारीका लागि ४ कोठा रहेका छन्।
निर्माण सामग्रीको अभाव र सडक समस्याका कारण तोकिएको समयमा पूरा गर्न नसकिएको रेडक्रस रसुवाका कार्यक्रम संयोजक मधुसुदन थापाले बताए। यही महिनाभित्र भवन निर्माण सक्ने उनको दाबी छ।
दुई वर्षअघि जडान गरेको टेन्ट घाम र पानीले क्षतविक्षत अवस्थामा पुगेको छ। अस्पतालको सेवा आकस्मिक र अत्यावश्यक भएकाले भौतिक संरचना, जनशक्ति, उपकरण र औषधिको उपलब्धता उत्तिकै महत्वपूर्ण रहन्छ। तर, भवन अभावमा गुणस्तरीय सेवा प्रदान गर्न अस्पताललाई कठिनाइ भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।