फलेवास, पर्वत- सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि रोजगारीका लागि हङकङमा बस्दै आएका प्रवासीले ठूलो धनराशी सहयोग गरेका छन्।
उत्तरी पर्वतका जलजला र मोदी गाउँपालिकाका विभिन्न वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तथा विपन्न, दलित र गरिब बालबालिकालाई सहयोग पुर्याउने उद्देश्यले पर्वत पुन मगर कल्याणकारी कोष हङकङले रु १३ लाख सहयोग गरेको हो। जलजला गाउँपालिका र मोदी गाउँपालिकाका विभिन्न वडामा रहेका २६ वटा सामुदायिक विद्यालयलाई रु ५० हजारका दरले सहयोग गरिएको छ।
६ वर्षअघि स्थापना भएको उक्त कोषको अक्षय कोषबाट यसअघि मिर्गौला पीडितको स्वास्थ्योपचारका लागि रु ७० लाख र भूकम्पपीडितको राहतका लागि रु ३० लाख सहयोग गरिसकिएको कोषका उपाध्यक्ष हेमबहादुर पुन ‘तुफान’ले जानकारी दिए। उनका अनुसार स्वदेशमा रोजगारी नपाएर आफूहरु प्रवासी जीवन बिताउनु परे पनि गाउँको विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान होस् र विपन्न तथा दलित र जनजातिका बालबालिकाले पढ्नबाट वञ्चित हुन नपरोस् भनेर उक्त सहयोग गरिएको हो।
उक्त कोषबाट मगर समुदायको बाहुल्य रहेको उत्तरी पर्वतका बाँसखर्क, लेखफाँट, धाइरिङ, शालिजा, क्याङ, देउराली र देउपुरका विद्यालयमा खेलमैदान लगायत अन्य भौतिक पूर्वाधार निर्माणका लागि सहयोग हुँदै आएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।