नेपालगञ्ज– साउन २८ गतेको बाढीले घर भत्किँदा बाँके राप्ती सोनारी ४ लालपुरका कमिलाल थारुले तीन छोरी गुमाए । उनको घर भत्किएर खण्डहर बन्यो।
छोरीहरुको मृत्यु भएको तीन साता बितिसक्दा पनि उनले अझैसम्म काजकिरिया गर्न पाएका छैनन् । काजकिरियाको लागि आफ्नो घर चाहिन्छ । घर भत्किएपछि ओत लाग्ने ठाउँ नहुँदा उनले काजक्रिया गर्न नसकेका हुन्।
श्रीमती र छोरीहरुलाई घरमै छोडेर कमिलाल मजदुरी गर्न पोखरा गएका थिए । २९ गते बिहानै उनले छोरीहरुको मृत्युको दुखद खबर सुन्नुपर्यो । खबर पाए लगत्तै उनी पोखराबाट घरतिर हिँडे।
तर, बाढी र पहिरोले ठाउँ–ठाउँमा सडक अवरुद्ध थियो । उनी कहिले घर आइपुग्छन् भन्ने टुंगो भएन । उनी नआइपुग्दै छिमेकीहरुले छोरीहरुको दाहसंस्कार गरिदिए । तीन दिनपछि घर पुग्दा उनको आँखा अगाडि शून्यता मात्र बाँकी थियो । न छोरीहरु थिए, न घर नै बचेको थियो।
घटना भएको एक सातापछि उनको गाउँमा पुग्दा कमिलाल बाढीले भत्काएर खण्डहर बनाएको घरमा सरसामान खोजिरहेका थिए । त्यही क्रममा छोरीहरुको स्कुलको ड्रेस र टाइ भेटियो । उनी भक्कानिए । आफूलाई सम्हाल्न सकेनन् र भग्नावशेष खोतल्न छाडेर त्यहाँबाट निस्किए।
उनले घर भत्किएपछिको असरल्ल थुप्रोमा कुल देउताको मूर्ति पनि खोजिरहेका थिए । नियतिले पारिवारिक वियोग थोपरे पनि उनी देउतालाई दोष लगाउने पक्षमै थिएनन् । झन् कुल देउताप्रति कठोर बन्ने अवस्थै थिएन । किनकि थारु समुदायको धार्मिक मान्यता अनुसार, परिवारको सदस्यको मृत्यु भएमा काजकिरिया गर्न घरसँगै कुल देउता अनिवार्य चाहिन्छ।
तर, घर खोतल्दा छोरीहरुको सम्झना बल्झाउने सामग्री भेटिएपछि उनी थप पीडामा परे।
शोक, भोक र अत्यासले कमिलाललाई नराम्रोसँग गलायो । बिरामी परेपछि गाउँकै हेल्थपोस्टमा भर्ना भएर उपचार गराए।
बाढीले कमिलालको मात्रै नभई गाउँका एक सयभन्दा बढी घर पूर्णरुपमा भत्काएको थियो । छिमेकीका घरहरु भत्किए पनि उनीहरुले मानवीय क्षति भोग्नुपरेन । नियतिले कमिलाललाई मात्रै गहिरो शोक दिएको थियो।
सम्पत्तिको नाममा दुई कठ्ठा जग्गा रहेको ३६ वर्षीय कमिलालले मजदुरी गरेर परिवार पाल्दै आएका थिए । उनका ४ छोरीमध्ये कान्छी छोरीको २ महिनाअघि बिरामी परेर मृत्यु भएको थियो । कान्छी छोरीको मृत्युको पीडा ताजा रहँदै अन्य तीन छोरी गुमाउनुको बज्रपात उनीमाथि पर्यो।
बाढीपछि कमिलाललाई सहयोग गर्न विभिन्न संघ–संस्था उनको गाउँमा पुगे । प्रधानमन्त्री शेरबहादुर देउवा गाउँमै गएर राहत रकम बाँडे । रकम पाउँदा कमिलाललाई केही राहत त मिल्यो, तर यसबाट उनको समस्या टरेन।
उनी घरमा पुरिएका देउताको मूर्ति र अन्य सरसामान निकालेर चाँडै एउटा टहरो बनाउन चाहन्थे । तर, उनलाई सहयोग गर्ने गाउँमा कोही भएन।
गाउँमा प्रायः सबैको घर भत्किएकाले उनलाई सघाउने कोही थिएनन् । उनले एक्लै घरमा पुरिएका सामग्री निकालेर नयाँ टहरो बनाउन सक्ने अवस्था भएन।
उनको अवस्था थाहा पाएर नेपाली सेनाको ४ नम्बर बाहिनी नेपालगञ्जबाट एक टोली पुगेर उनको घरमा पुरिएका सरसामान निकालिदिए । त्यसै क्रममा देउताको मूर्ति पनि भेटियो।
सेनाको टोलीले कमिलाल सहित घर क्षति भएका ८० परिवारका लागि टेन्ट बाँडेपछि लालपुरका बाढी प्रभावितले तत्कालका लागि टाउको लुकाउने ओत पाए ।
बस्ने घर नहुँदा रोकिएको छोरीहरुको काजक्रिया गराउन अहिले भने छिमेकीहरु उनको सहयोगका लागि जुटेका छन् । गाउँका बडघर भग्गु थारुको नेतृत्वमा एक दर्जन छिमेकी अहिले कमिलालको घर बनाउन लागिपरेका छन् । घर बनाउन उनले काठको खाँबो, बाँस, टिन, पराल लगायत सामग्री जम्मा पारिसकेका छन्।
आँसु निचोर्दै उनी भन्छन्- ‘यो सबै धपेडी छोरीहरुको आत्माले शान्ति पाओस् भनेर गरिरहेको छु । छिटै घर बनाएर उनीहरुको काजकिरिया गर्नेछु।'
हेर्नुहोस् कमिलालको व्यथा:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।