ललितपुर– ललितपुरका सानेपामा नेपाली उत्पादनहरुको एकदिने मेला सम्पन्न भएको छ। फेयर ट्रेड ग्रुप नेपालले उक्त मेला आयोजना गरेको हो।
हरेक वर्ष क्रिसमसको अवसर पारेर नेपाली उत्पादनहरु प्रदर्शनी र बिक्री गर्ने उद्देश्यले मेलाको आयोजना हुने गरेको फेयर ट्रेडका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए। उनका अनुसार नेपालमा रहेका विदेशीहरुलाई लक्षित गरेर आयोजना हुने मेलालाई जर्मनी सहयोग नियोग (जिआइजेड) र नेपालस्थित जर्मनी दूतावासले साथ दिँदै आएका छन्।
उनले भने, ‘५ वर्षदेखि मेला आयोजना हुँदै आएको छ। विशेष गरी नेपाली ह्यान्डीक्राफ्ट, सेल्प (ऊनीका सामग्री), पस्मिना, होम डेकोरेटका सामान, अर्गानिक खाद्यान्न (चिया, लप्सी, कफी, अचार आदि) मेलामा राखिन्छ।’
जर्मनी, थाइल्यान्ड, बेलायत, ब्राजिल, युरोपियन युनियन आदि देशका राजदूतले मेलाको अवलोकन गरेको केसीले जानकारी दिए। उनका अनुसार करिब दुई हजारले अवलोक गरेको मेलामा ७० प्रतिशत विदेशी नागरिक सामेल थिए। ५० स्टल रहेको मेलामा करिब १५ लाख रुपैयाँ बराबरको कारोबार भएको उनले बताए। केसीका अनुसार सामान बुकिङ गर्नेको कारोबार जोड्ने हो भने यो रकम अझै बढी छ।
केसी भन्छन्, ‘गुणस्तरीय नेपाली उत्पादनप्रति विदेशी नागरिकको मोह छ। विदेशीले नेपालबाट लैजाने उपहार वा अन्य उत्पादन हाम्रो फेयर ट्रेडबाटै किनून् भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो।’ उनका अनुसार फेयर ट्रेडमा २५ कम्पनी आबद्ध छन्।
केसीले नेपालबाट हरेक वर्ष करिब ६ अर्ब मूल्य बराबरका हेन्डीक्राफ्ट निर्यात हुने बताए। काठमाडौंमा ८ र पोखरामा १ पसल रहेको फेयर ट्रेडले उक्त निर्यातमा २० प्रतिशत हिस्सा ओगट्ने गरेको उनको अनुमान छ। पछिल्लो समय नेपाली नागरिकले समेत नेपाली उत्पादनप्रति चासो बढाएको केसीले बताएका छन्।
हेरौं फेयर ट्रेडका यी तस्बिर:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।