काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीकाे आजबाट हुने दक्षिणपूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्षित गर्दै आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलकाे उडान सेवा बन्द हुने भएकाे छ।
प्रधानमन्त्रीकाे उडानकाे समयमा बिहान ११ बजेदेखि ११ः३० विमानस्थलका आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण सेवा ठप्प हुने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले बताए। भिभिआइपी सवारीलाई लक्षित गर्दै विमानस्थल उडान बन्द गराउन लागिएकाे प्रमुख क्षेत्रीले बताए।
यसअघि भिभिआइपी सवारीका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदै आएकाेमा यात्रुहरुलाई थप सास्ती नहाेस् भन्दै ३० मिनेट मात्रै बन्द गर्न लागिएकाे पनि उनले जानकारी दिए। यसअघि अघिल्लाे सातामात्रै राष्ट्रपति विद्यादेवी भण्डारी चीनकाे राजकीय भ्रमणमा जाँदा ताेकिएकाे समयभन्दा लामाे समय विमानस्थल बन्द हुँदा आन्तरिक र बाह्य गरी १ सय ३० भन्दा बढी उडान प्रभावित भएका थिए।
नेपाल वायु सेवा निगमको 'एयरबस ए-३२०' विमान चार्टड गरी प्रधानमन्त्री ओली बिहान ११:२५ मा ५ दिने विदेश भ्रमणका लागि निस्कनेछन्। साे क्रममा त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलबाट हुने सबै उडान तथा अवतरण सेवा बन्द हुने भएकाे हाे।
भियतनामका प्रधानमन्त्री गुयन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा ओली त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री ओली सुरुवातको ३ दिन भियतनाम र त्यसपछिका २ दिन कम्बोडियामा रहनेछन्।
भियतनामबाट भ्रमणको सुरुवात गर्ने ओलीले भियतनामी समकक्षी गुयन सुआन फुकसँग द्धिपक्षीय वार्तासमेत गर्नेछन्।
भ्रमणकै बेला नेपाल–भियतनामबीच सिधा हवाई उडान गर्ने सम्झौतामा समेत हस्ताक्षर हुनेछ। यद्यपी, सन् २०१५ मै दुई देशबीच सिधा हवाई उडान गर्नेबारेको प्रारम्भिक हस्ताक्षर भएको थियो। जसमा दुबै देशले सातामा १४ वटा उडान गर्न पाउने उल्लेख थियो। त्यसको कार्यान्वयन भने हुन सकेकाे छैन।
प्रधानमन्त्री ओली जेठ १ गते नेपाल फर्कने कार्यक्रम छ।
र याे पनि: जम्बो टोलीसहित पाँचौं विदेश भ्रमणमा प्रधानमन्त्री ओली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।