खोटाङ- चार महिनादेखि कतारमा अलपत्र परेकी खोटाङ बास्पानीकी एक युवतीलाई स्वदेश फर्काइएको छ।
कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपिलासगढी गाउँपालिका–३ बास्पानीकी मनराखी राईलाई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो।
कम्पनीले निरन्तर काम लगाए पनि कम्पनी मालिकले चार महिनादेखि तलब नदिएपछि उनलाई कतारदेखि नेपालसम्मको एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश फकाईएको समाजका द्वितीय उपाध्यक्ष रुद्र शर्मा आचार्यले बताए। पाउनुपर्ने बाँकी तलब उपलब्ध गराउन पटकपटक माग गर्दा पनि कम्पनी मालिकले वास्ता नगरेपछि मनराखीले श्रम अदालतमा उजुरी दिएकी थिइन्।
अदालतमा उजुरी परेपछि कम्पनी मालिक सम्पर्कविहीन बनेपछि उनी विचल्लीमा परेकी थिइन्। कम्पनीबाट लामो समयसम्म तलब नपाउँदा समस्यामा परेपछि खोटाङ सेवा समाजले उनलाई सहयोग गरेको हो।
पैसा कमाउने सपना बोकेर २७ महिनाअघि कतार पुगेकी मनराखी अहिले खाली हात नेपाल फर्किनुपरेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।