सिओल– नयाँ संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन सँघारमा छ। संघीय संरचनाअनुसार पहिलो चोटि चुनाव भइरहँदा देशमा अब राजनीतिक लडाइँ सकिएको र विकासको चरण सुरु हुनुपर्ने अधिकांशको माग छ।
रोजगारीका लागि विदेशिएका लाखौं युवाले चुनावमा मताधिकारको प्रयोग गर्न नपाए पनि राष्ट्रिय राजनीतिमा चासो र चिन्ता राख्ने गरेका छन्। यसै सन्दर्भमा यो निर्वाचनले देखाएको उत्साह र चुनावपछिका आशाबारे दक्षिण कोरियामा रहेका केही नेपालीहरुको धारणा बुझ्न खोजेका छौंः
देश इमानको राजनीतितर्फ डोरिने आशा
- सन्तोष पौड्याल (गुल्मी, हाल दक्षिण कोरिया)
यो निर्वाचन संविधान र संघीयता संस्थागत गर्ने कोसेढुंगा हो। मिडिया र आम मानिसले प्रतिनिधिसभाका उम्मेदवारलाई जति प्राथमिकता दिएका छन्, त्यो अनुपातमा प्रदेशसभाका उम्मेदवारलाई महत्व दिएको देखिँदैन। यो संघीयतामा जाँदै गरेको देशको लागि राम्रो संकेत होइन। अर्को कुरा, शासकीय प्रणालीप्रति मेरो पूरै असहमति छ। आम जनताको माग प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र स्थायी सरकार छ। त्यो कुरा अहिलेको निर्वाचन प्रणालीबाट असम्भव जस्तै छ।
थ्रेसहोल्डले दलसंख्या घट्ने, दलहरुको गठबन्धनले गर्दा स्थायी सरकार हुने अनि विकासले गति लिने र केही नयाँ विचार लिएका पार्टीहरु संसदमा राष्ट्रिय दलको रुपमा प्रवेश गरे देश इमानको राजनीतितर्फ डोरिने केही आशा यो निर्वाचनले देखाएको छ।
अस्थिर राजनीतिको अन्त्य हुने संकेत
- मिनराज पोख्रेल (अर्घाखाँची, हाल दक्षिण कोरिया)
दशक लामो माओवादी द्वन्द्व, आन्दोलन र राजनीतिक अस्थिरताका बीच नयाँ संविधान निर्माणपछिको पहिलो संसदीय चुनाव र गणतन्त्रको कार्यान्वयनको पहिलो खुड्किलो संघीय निर्वाचन हुनु आफैंमा महत्त्वपूर्ण छँदै छ। राजनीतिक क्रान्तिको चरण सकिएर देश अब आर्थिक क्रान्ति र समृद्धितर्फ बढ्ने हाम्रो विश्वास छ। संविधानमा भएका कतिपय प्रगतिशील धारा, निर्वाचन कानुनमा भएको थ्रेसहोल्डको व्यवस्थाले राजनीतिक दलहरू मर्ज हुने कुरा सकारात्मक छ। कुनै दलले स्पष्ट बहुमत ल्याउन नसकेर सरकार अस्थिर हुने कुरा पनि पछिल्लो समय देखिएको राजनीतिक दलहरूको गठबन्धनले सकारात्मक संकेत गरेको छ। जसले अस्थिर राजनीतिको अन्त्यसँगै विकास र समृद्धितर्फ देश बढ्ने कुरामा आशा राख्न सकिन्छ।
धेर अपेक्षा छैन, रोजगारीको अवसर सिर्जना होस्
- दीपेन्द्र सिम्खडा (धादिङ, हाल दक्षिण कोरिया)
चुनावको नाम जे दिए पनि नेतृत्व गर्ने भनेको हिजो जनताका लागि अयोग्य साबित भइसहेकाहरुले नै हो। ठूला दलहरुले नयाँ विचार र योजनासहित जनतामा जाने दलहरुलाई गठबन्धन गरेरै भए पनि पराजित गर्छन् र सत्तामा आफ्नो हालीमुहाली गरिराख्छन्। हामी जनताका छोराछोरी विदेशमा पसिना बगाएर रेमिट्यान्स पठाउँछौं, त्यो रेमिट्यान्सबाट अब बन्ने प्रदेशसभाका मुख्यमन्त्री, मन्त्री लगायतले तलब–भत्ता खानेछन्।
मलाई अहिलेका शासकहरुबाट कुनै अपेक्षा नै छैन, किनभने अब बन्ने प्रदेशसभा नेताहरुको पैसा कमाउने नयाँ उद्योग बाहेक केही होइन। नेताहरुले जनतामा सपना बाँडिरहेको यो नौलो विषय होइन। देशमा यो चुनावपछि विभिन्न स्वार्थ पूरा गर्न आन्दोलनको मञ्चन गरेर जनताका छोराछोरीको बलि दिने क्रमको अन्त्य होस्। उद्योगधन्दाहरु सञ्चालन होऊन् र स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना होऊन्, यही कामना मात्र गर्न सकिन्छ।
विदेशमा रहेका नेपालीका लागि अनलाइन भोटिङ आवश्यक
- सरु थापा (रुपन्देही, हाल दक्षिण कोरिया)
चुनावपछि देशमा रोजगारीका अवसरहरु सिर्जना होऊन्। हामी जस्ता देश विकास गर्न सक्ने युवा शक्तिले अरुको देशमा पसिना बगाउन नपरोस्। जनताले चुनेका प्रतिनिधिहरुले जनताको भावना बुझून्। विदेशमा भएका हामी नेपाली आजको सूचना–प्रविधिको युगमा पनि चुनावमा आफ्नो मत जाहेर गर्न पाउँदैनौ। यो विडम्बना हो। अनलाइन भोटिङको व्यवस्था गर्न नेपाल सरकारसँग मेरो हृदय देखि नै माग छ।
असल प्रतिनिधि छानिएर आऊन्
- निर्मला खड्का (हाल दक्षिण कोरिया)
देशमा विकासले गति लियोस्। देशमा व्याप्त बेरोजगारी समस्याको अन्त्य होस्। दुई छाकका निम्ति विदेशीको गुलामी गर्नुपर्ने स्थितिको अन्त्य होस्। यो चुनावले असल प्रतिनिधिहरु छानोस् भन्ने कामना गर्छु। हामी विदेशमा रहेकाले सही उम्मेदवार छान्न नपाए पनि नेपाली जनतामा असल नेता छान्न सक्ने क्षमता प्राप्त होस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।