काठमाडौं– गृहमन्त्री जनार्दन शर्माले सरकारले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै कार्यसञ्चालन गरेको बताएका छन्।
व्यवस्थापिका संसदमा सभामुखले गरेको रुलिङको जवाफ दिँदै मन्त्री शर्माले विधि र पद्धतिमा रहेर सरकारले आफ्नो काम अघि बढाएको बताएका हुन्।
मन्त्री शर्माले स्थानीय तहको तेस्रो चरणको निर्वाचनका साथै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण तथा निष्पक्ष रुपमा सम्पन्न गर्ने बताए।
‘निर्वाचनमा धाँधली गर्न सरकाले सरुवा–बढुवा गरेको आरोप सत्य हैन । निर्वाचन आचारसंहिता पालना गर्दै निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिबद्ध छ,’ शर्माले भने।
प्रहरी प्रशासनमा भएको बढुवामा आफ्नो कुनै हात नरहेको गृहमन्त्रीले संसदमा जवाफ दिएका छन् । गत १९ गते बसेको संसद बैठकमा एमालेका उपाध्यक्ष भीम रावलले गृह मन्त्रालयले मनपरी सरुवा गरेको आरोप लगाएका थिए।
यसको जवाफ दिँदै गृहमन्त्रीले भने, ‘बढुवा समितिको सिफारिसमा उच्चपदस्थ कर्मचारीको बढुवा गरिएको हो । विगत तीन वर्षदेखिको नम्बर गणना हुन्छ । प्रहरीमा मेरा आफन्त बढुवा भएका छैनन्, हेर्न सक्नुहुन्छ।’
यस्तै, मन्त्री शर्माले सरकारबाट जवाफ खोज्नु प्रत्येक सांसदको अधिकार भएको भन्दै तथ्यमा आधारित प्रश्न मर्यादित रुपमा राख्न सांसदहरुको ध्यानाकर्षण समेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।