महासंघको टोलीमाथि आपूर्तिमन्त्री जंगिए- 'ठगी गर्ने व्यापारीलाई छाडिन्न'

नेपाल लाइभ | २०७४ भदौ २३ शुक्रबार | Friday, September 08, 2017 १७:२१:०० मा प्रकाशित

काठमाडौं- आपूर्ति मन्त्री शिवकुमार मण्डलले दरबारमार्गमा चर्को मूल्य लिने व्यवसायीलाई कानुन अनुसार कारबाही  हुने बताएका छन्।

शिलबन्दी गरीएका पसल खुलाउन माग गर्न आएको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डललाई उनले कारबाहीको चेतावनी दिए। ‘यो विषय कानुनी रुपमा हल हुन्छ, विद्यमान कानुनले जे दिएको छ त्यसै अनुसार हुन्छ,’ उनले भने, ‘गलत गरेको छ भने दण्डित हुन्छ।’ 

पहुँच छ भन्दैमा जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति अन्त्य गर्न पनि उनले व्यवसायीलाई आग्रह गरे।

उपभोक्तालाई सहज र सुलभ तरिकाले वस्तु उपलब्ध गराउनुपर्नेमा अनुगमनमा पुगेको ठाउँमा व्यापारीले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति व्यवहार गर्ने गरेको उनको भनाइ थियो। गलत काम गर्ने कारबाहीको भागीदार हुने चेतावनी दिँदै उनले भने, 'राज्यको सशक्त उपस्थिति भएको ठाउँमा त पहुँच छ जे गरे पनि हुन्छ भन्ने अभिव्यक्ति छ भने सर्वसाधरणलाई कस्तो व्यवहार होला?’

महासंघका अध्यक्ष भवानी राणको नेतृत्वमा आएको टोलीले अनुगमनबाट व्यापारीको छवि नै बिग्रेकोले शिलबन्दी गरेका पसल खोलिदिन अनुरोध गरेका थिए। सो भेटमा उनले भने, ‘मर्का परेको विषयमा छलफल गर्नुस् तर व्यक्तिले राज्य ठग्नु ठिक हुन्न।’