कालेबुङ– केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीसँग गोर्खाल्याण्ड राज्य निर्माणबारे त्रिपक्षीय वार्ताका लागि कुराकानी गर्ने आश्वासन दिएका छन्।
दार्जीलिङबाट गएको प्रतिनिधि टोलीले सिंहसमक्ष केन्द्रले त्रिपक्षीय वार्ता बोलाउनुपर्ने माग गरेका थिए। तर, गृहमन्त्री सिंहले त्रिपक्षीय वार्ताका लागि कुराकानी गर्ने बताए पनि बंगालकी मुख्यमन्त्री बेनर्जी राजी नहुन सक्ने संकेत पनि गरे।
‘त्रिपक्षीय वार्ता बोलाउने कार्य राज्यले गर्नुपर्ने हो,’ सिंहले प्रतिनिधि टोलीसित भने, ‘तर पनि म मुख्यमन्त्री बेनर्जीसँग यसबारे कुराकानी गर्नेछु।’
गोर्खा जनमुक्ति मोर्चाका प्रमुख विमल गुरूङले दिल्ली पठाएको प्रतिनिधि टोलीसँग गृहमन्त्री सिंहले अकबर रोडस्थित आफ्नै निवासमा छलफल गरेका थिए। प्रतिनिधि टोलीले गृहमन्त्री सिंहलाई दार्जीलिङको स्थितिबारे विस्तृत रूपमा जानकारी गराएका थिए।
आधा घण्टासम्म चलेको बैठकमा मोर्चा महासचिव रोशन गिरी, केन्द्रीय सदस्य स्वराज थापा, कालेबुङकी विधायक सरिता राई, खरसाङका विधायक रोहिता शर्मा र डुवर्सका प्रतिनिधि अशोक लामा सामेल थिए भने जिएमसिसीबाट अरुण घतानी, दावा पाख्रिन र विप्लव सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।