काठमाडौं- भूकम्पको घाउ आलै थियो। आफन्त र घरबार गुमाएकाहरुका आँखा ओभाएका थिएनन्। यही बेला भारतले नेपालमाथि नाकाबन्दी लगाइदियो। विपत्तिको खण्डहरमा उभिएर टुक्रिएको जीवन समेट्ने क्रममा रहेका नेपालीलाई भारतीय नाकाबन्दीले झनै आक्रान्त बनाइदियो।
कवि, साहित्यकार, बौद्धिक समाजका व्यक्तिहरु नाकाबन्दीको विरोधमा निस्किए। सबै क्षेत्रबाट विरोध भइरहेको थियो। कलाकार ज्योति प्रकाशले पनि कलाबाटै विरोध अभियान चलाउने सोच बनाए। उनले यसबारे कला क्षेत्रमै लागेका केही सहकर्मीहरुसँग सल्लाह पनि गरे। तर भनेजस्तो साथ पाउन सकेनन्। आफैले नयाँ शैलीबाट विरोध गर्ने योजना बनाए र, पुगे वसन्तपुर।
वसन्तपुर डबलीमा उनले ८ फिटको नेपालको नक्सा आकारको क्यानभास तयार पारे। त्यसमा सुरुमा गोल्डेन कलर पोते, त्यहीँ जहाँ ग्यासको अभावमा रुमल्लिएका नेपालीको यथार्थलाई उतारे। अभावको छटपटीसँगै क्यानभासको बीचमा ठूलो ताल्चा बनाए। तर त्यो खुल्लै थियो, छेउमा चाबी झुन्डिराखेको। 'हामीसँग सबै चिज छ। चाबी हामीसँगै छ तर खोल्न चाहिरहेका छैनौं,' उनले सम्झिए, 'आफूलाई चिन्न नसक्दा आफैलाई बिर्सिरहेका थियौं त्यसबेला।'
उनी चित्र बनाइरहेका थिए। अचानक वरिपरिबाट दनदनी आगो बल्न थाल्यो। उनलाई नियालिरहेका मानिसहरु अत्तालिए। किनकि ज्योतिको यो पर्फमेन्स आर्टको योजना गोप्य थियो। 'केही भाइहरुलाई मात्र तयारी अवस्थामा राखेको थिएँ, कसैलाई थाहा नदिईकन,' उनी सुनाउँछन्, 'वरिपरि डोरी राखिसकिएको थियो। उनीहरुले त्यसमा मट्टिलेत भिजाइसकेका थिए। त्यसैमा सलाई कोर्ने योजना पनि बनिसकेको थियो।'
कलामार्फत विरोधको यस्तो नयाँ शैली अपनाउने उनै ज्योति प्रकाश अहिले फरक चित्रका साथ देखिएका छन्। 'ह्वाइट अन ह्वाइट' थिममा उनको चित्रकला प्रदर्शनी नेपाल कला परिषदमा चलिरहेको छ। जसलाई उनले आमा शीर्षक दिएका छन्।
'आमा, मेरो आमा मात्र होइन यहाँका सबै आमा अनि मेरो देश आमा,' उनी प्रस्ट्याउँछन्, 'मेरो पेन्टिङमा मेरी आमा जस्ता करोडौं आमाले भोगेको व्यथा अनि देशको भोगेको व्यथा देखाउन खोजेको छु। त्यसबाट सकारात्मक सन्देश पनि जाओस् भन्ने मेरो उद्देश्य हो।'
सेतोमा सेतो प्रयोग नेपाली कला इतिहासमै पहिलो दाबी गर्छन् उनी।
सांस्कृतिक हिसाबले सेतो रङलाई त्यति राम्रो मानिन्न। तर कलकारितामा सेतो नभई हुँदैन। यो शुद्धताको प्रतीक पनि हो। सांस्कृतिक रुपमा नराम्रो मानिएको रङलाई कलाकारले प्रयोग गरेर नयाँ शिक्षा र सकारात्मक सन्देश दिन सक्छ भन्छन् उनी।
समावेशी, पहिचान अनि इन्द्रेणी समाजको कल्पना गरिरहेका छौं हामी। जहाँ सबै जात, धर्म, वर्ग अटाओस्। ज्योति प्रकाशको बुझाइमा भने हाम्रो समाज कलरफुल बन्न सकेको छैन। 'यही भएर सेतो कलरबाटै समाजको लयमा एकरुपता दिन खोजेको हुँ,' उनी नहिचकिचाई भन्न सक्छन्।
सेतो क्यानभासमा ब्रसले अनेक रङ दलेर कुनै पनि चित्र निर्माण हुन्छ। रंगीन चित्रको महत्व बुझ्दै आएका कला पारखीलाई उनको सेतो रङले के दिन्छ त?
'आजसम्म कलरफुल पेन्टिङ हेर्दै आयौं। त्यही अनुरुप बुझ्दै आयौं,' उनले भने, 'सेतोमा सेतो नै रङ प्रयोग गरेर मैले समाजलाई सकारात्मक मेसेज दिन खोजेको छु। विशुद्ध हेराइ सबैमा होस् भन्ने पनि हो।'
सन् १९१८ तिरै विश्वविख्यात रसियन कलाकार मालेविचले 'ह्वाइट अन ह्वाइट'मै सिरिज गरेका थिए। ज्योति प्रकाशको कलामा साल्भाडोर डली, इड्वार्ड मुङक, भ्यान गग जस्ता कलाकारको प्रभाव पनि देखिन्छ। जसलाई उनले नेपाली संस्कृति र समाजसँग जोडेका छन्।
युद्धको घाउ र वैदेशिक रोजगारको नियति
उनको चित्रमा युद्धको अवशेष, त्यसले छोडेको घाउ मात्र छैन वैदेशिक रोजगारको नियति र समाजमा भइरहेको शकुनि खेलको विम्ब पनि चित्रित छन्। ठाउँठाउँमा प्वाल परेको भित्तो र छेउमा जलेको कपडाको सानो टुक्राले कुनै युद्धको दृश्य झल्काउँछ। यहाँ उनले दैनिक प्रयोग हुने कपडाको प्रयोग गरेका हुन्। कुनै कालखण्डमा हामीले युद्ध पनि भोग्यौं तर यसलाई बिर्सिएर मनमुटाव त्यागी अगाडि बढ्न सके आफ्नो चित्रको सार्थकता हुने उनी बताउँछन्।
'माई पासपोर्ट विथ द र्याट' नाममा अर्को चित्र छ। यसमा वैदेशिक रोजगारको 'गेम' लाई उनले देखाउन खोजेका छन्। यसलाई उनी कुनै खेल भन्न रुचाउँछन्। चित्रमा चेसबोर्ड छ। त्यही बसिरहेका छन्, पाँच वटा मुसा। एकातिर युवाहरुको टाउकैटाउका पनि अटाएका छन्। र, सिरानमा नेपाली राहदानी राखिदिएका छन्। 'वैदेशिक रोजगारमा मुसाको खेल चलिरहेको छ। यसलाई कम गर्नुपर्छ र देशमै जे सकिन्छ हामी त्यतातिर लाग्नुपर्छ भन्ने यसको सन्देश हो,' उनी बुझाउँछन्।
खुट्टा तान्ने र अरुको ईर्ष्या गर्ने प्रवृत्तिबाट दिक्क बनेका उनले 'शकुनिको पासा' शीर्षकमा चित्र नै बनाए। जहाँ वर्गाकार कोठाहरु केही ऊँट छन्, कोही पसिरहेका कोही निस्किरहेका। उनको बुझाइमा समाजका शकुनिहरुको खेलबाट हामी भ्रमित भइरहेका छौं, जसरी यी ऊँटहरु हेर्नासाथ हाम्रो आँखा पनि केही बेर भ्रमित हुन पुग्छ।
उनका अधिकांश चित्रमा धागो र टाँक प्रयोग गरिएको छ। धागो कतै गाँठो परेको छैन। टुटेको देखिँदैन। उनको 'इनिसिएसन' होस् या 'स्टारी नाइट', यहाँ पनि टाँक र धागोकै अधिक प्रयोग छ। 'सम्बन्धलाई बाँधेर मिलाएर राख्न सकियोस् र यी धागो जस्तो सम्बन्धहरु नटुटून्,' आफ्नो कलाको उद्देश्यबारे उनी भन्छन्, 'एकापसमा सम्बन्धहरु जोडिइराख्नका लागि यसले सकारात्मक सन्देश दिन सक्छ।'
महिलाहरु कसैको वस्तु जस्तो भइरहको महसुस गरेपछि उनले 'ह्वाइट तारा'लाई शिरमा राखेर त्यसमा धाँगो जोडिदिए। जहाँ दुईतिर १०/१० जना महिलाहरु झुन्डिएका छन्। 'कसैको खेलौना वस्तु होइन महिला। त्यसैले मैले ह्वाइट ताराको स्वामित्वमा तिनलाई राखिदिएको हुँ। किनकि ह्वाइट ताराको सोच नै सकारात्मक हो। सबैलाई भलो गर्नु।'
'बुद्ध इन ट्रबल' मा कुनामा बुद्ध ध्यानस्थ मुद्रामा छन्। बीचमा चित्कारपूर्ण मानवआकृति देखिन्छ। कतै स्वस्तिक छाप चिह्न त कतै घडीको सुई। कुनै बेला बुद्धले ज्ञान प्राप्त गर्ने बेला भगवानले उनलाई परीक्षण गर्ने योजना बनाए। सुन्दरी र राक्षसलाई उनको ध्यानस्थलमा पठाए। तपस्यामा लीन बुद्धको ध्यान भंग भएन। उनले पृथ्वी छोए र, त्यहाँबाट शक्ति लिएर राक्षसहरुलाई परास्त गरे। यही मिथलाई उनले कलाको थिममा ढाले। विश्वप्रसिद्ध कलाकारहरुले पनि यही थिममा काम गरिसकेका छन्। तर उनले नेपाली सन्दर्भ जोडेका छन् यसमा। 'जजसले बनाए, उनीहरुले त्यहीँकै युद्धलाई उतारे। मैले नेपाली सन्दर्भलाई यसमा चित्रण गरेको छु,' उनी भन्छन्।
'एलेगोरी' नाम दिइएको अर्को चित्रमा स्यान्डो र कुर्ताको टुक्रिएको कपडा राखिएको छ। जहाँ ससाना सिसाका टुक्रा पनि छन्।
कपडा समेत प्रयोग गर्नुको अर्थ के त?
'प्राय: हरेकको साथमा स्यान्डो हुन्छ नै। मानिसको नजिकमा रहने कपडा भएकाले मैले सम्बन्ध सूत्रको रुपमा यसलाई प्रयोग गरेँ,' उनी भन्छन्।
'माई क्याप'लाई उनले शिरको रुपमा बुझाउन खोजेका छन् जुन राष्ट्रियतासँग पनि जोडिन्छ। 'अ न्यु बिगिन'मा टाँक र धागो बढी प्रयोग गरेका छन् उनले। धागोको त्रिकोणात्मक प्रयोगले जीवन, जगत् र मृत्युको शाश्वत पक्ष देखाउन खोजिएको उनले प्रस्ट्याए।
यहाँ उनले १५ चित्र दुई इन्स्टलेसन राखेका छन्। किच्चिएका भाँडाकुँडा र थोत्रो गाग्रीहरुले उनको प्रदर्शनीमा थप आकर्षण थपेको छ। पाँच वटा भाँडा एकमाथि अर्को गरी ठड्याइएको छ। हरेकका महिलाको अनेक अवस्थाका मसिना कला पनि जोडिएको देखिन्छ। 'मैले यहाँ पञ्चतत्वलाई पनि विम्बित गर्न चाहेको हुँ,' उनी भन्छन्, 'पृथ्वी, जल, वायु, अग्नि, आकाशको विशालता यो चित्रले समेट्छ।'
चार वर्षअघिको आइडिया
कलामा नयाँपन भित्र्याउन ज्योति प्रकाशले चार वर्षअघि नै सेतो रङको प्रयोगबारे सोचिसकेका थिए। उनी यही सफेद क्यानभासमा समाजको विसंगति र घाउलाई देखाउन चाहन्थे। दुई वर्षयता त उनले यही थिममा तयारी नै गरे।
२२ वर्षअघिदेखि कला क्षेत्रमा प्रवेश गरेका उनी अहिले त्रिवि केन्द्रीय क्याम्पसमा ललितकला पठाउँछन्। पिएचडी अध्ययन पनि गरिरहेका छन्। पहिलो ब्याचका विद्यार्थी हुन् उनी।
भूकम्पको ४५औं दिनमा वसन्तपुरमा उनले ठिक ११:५६ बजे पर्फमेन्स आर्ट सुरु गरेका थिए। ७ दशमलव ८ मिटर लामो र ४५ इन्च चौडाइको ब्यानगरमा ४ घन्टा लगातार रङ पोतेर आफ्नो क्षमता देखाइसकेका थिए।
यस्ता नयाँनयाँ प्रयोग गरिरहने कलाकर्मीको अबको योजना के होला?
'घरमा भएको बेला त एक दिन पनि काम नगरेको छैन। नयाँ ठाउँ गए पनि दिमागमा चित्र आइहाल्छ,' उनी भन्छन्, 'अरुभन्दा फरक नगरे परिचय नै बन्दैन। केही नयाँ चिज त आउँछ नै किनकि मेरो हातबाट अब रङ र कुची कहिल्यै टुट्नेछैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।