काठमाडौँ– सन् २०१२ मा बौद्ध सम्प्रदायका मानिसले म्यानमारमा हिंसा भड्काए। रोहिंग्या समुदायलाई तारो बनाउँदै उनीहरुका करिब १२ सय घरमा आगो झोसिदिए। जल्दै गरेका घरबाट ज्यान जोगाएर बंगलादेशतिर भागेका उनीहरुलाई सीमाक्षेत्रमा बंगलादेशी सेनाले गोली चलायो। केही त्यहीँ ढले, केही बच्न सफल भए।
बंगलादेशले खेदेपछि घर छोडेर भागेका रोहिंग्याहरु भारततर्फ लागे। भारतले पनि लखेट्यो। अन्ततः उनीहरुको गन्तव्य नेपाल बन्यो।
आगो, गोलीबाट ज्यान बचाउँदै नेपाल भित्रिएका रोहिंग्या शरणार्थीको जीवन कष्टकर छ। कोही एक छाक नखाएर बसेका छन्। कोही औषधि नपाएर छटपटिएका छन्।
कपनको बालुवाखानीस्थित राममन्दिर नजिक रोहिंग्या शरणार्थीको बस्ती छ। ८६ वर्षीय अब्दुज अली त्यो शिविरकै सबैभन्दा पाको व्यक्ति हुन्। म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल छिरेका उनी चार वर्षदेखि कपनमा बसिरहेका छन्।
शिविरमा रहेकामध्ये पाका अब्दुजको पीडा अरुको भन्दा दर्दनाक छ। हिंसामा उनले आफ्नो दाइ गुमाए, छोराले पनि संसार छाडे । नाति–नातिनी गरी परिवारका ९ सदस्यले उनको साथ छोडिसकेका छन् । अब अब्दुजलाई खानै नपाई मरिएला कि भन्ने चिन्ता छ । ‘एक सातायता एक छाकदेखि खान पाएको छैन, अब त खान नपाएर मरिने हो कि भन्ने चिन्ता छ,’ उनले दुःख पोखे।
कपनको बालुवाखानीमा तीन सय रोहिंग्या शरणार्थी छन्। दुई वर्षसम्म उनीहरुलाई ‘इस्कार’ नामक मुस्लिम संस्थाले प्रतिपरिवार मासिक १५ हजार रुपैयाँ दिएको थियो। यस्तै, शरणार्थीका लागि राष्ट्रसंघीय उच्च नियोग युनएचसिआरले पनि मासिक प्रतिपरिवार २२ हजार रुपैयाँ उपलब्ध गराएको थियो।
सन् २०१५ सम्म उनीहरुले आफ्नो गुजारा त्यही रकमबाट टारे। अहिले दुवै संस्थाले पैसा दिन छाडेका छन्। रकम रोकिएसँगै शरणार्थीको जीवन दयनीय भनेको छ। ‘संस्थाहरुबाट सहयोग हुँदासम्म हामीलाई अभाव थिएन। अहिले दुई छाक खान मुश्किल छ,’ शिविरमा रहेकी नरुज जानले भनिन्।
उनीहरुलाई कहिले आफ्नो बास उठ्ने हो भन्ने चिन्ताले पनि पिरोलेको छ। वार्षिक १ लाख ५० हजार रुपैयाँ भाडा तिरेर उनीहरुले छाप्रो हालेका छन्। संस्थाहरुबाट सहयोग प्राप्त हुँदासम्म उनीहरुलाई भाडा तिर्न समस्या थिएन। त्यसपछि भाडा कसरी बुझाउने भन्ने समस्या नाचिरहेको छ उनीहरुका सामु। शिविरका महब्बुत अब्बास भन्छन् ‘पहिला सबैसँग बराबर पैसा उठाउँदा सजिलै पुग्थ्यो। संस्थाहरुले सहयोग बन्द गरेपछि सबैसँग भाडा तिर्ने पैसा पनि हुँदैन। जग्गावालाले के बस्न देला र?’
आफ्नै ज्यान पाल्न मुश्किल भए पनि अशक्तलाई सहयोग गर्नुपर्ने धार्मिक मान्यतालाई उनीहरुले छाडेका छैनन्। शिविरका अशक्तलाई अभावकाबीच सबैले सहयोग गर्ने गरेको अब्बास बताउँछन्।
शिविरमा १ सय ४० युवा छन् । तीमध्ये ३० जना घाइते छन्, जो काम गर्न सक्दैनन्। बाँकी युवाले बाहिर निस्किएर भेटेको काम गर्छन्। तर, कतिपयले शरणार्थी भनेर ज्याला समेत नदिने गरेको गुनासो पोख्छन् अब्बास। ‘रोजगारी पाउन मुश्किल छ, परिवार कसरी पाल्ने टुंगो छैन,’ अब्बासले भने, ‘मेरो हात बुद्धिस्टहरुले काटिदिए। छिन्न लागेको हात बाँधेर बंगलादेशमा उपचार गराएँ। भारी उचाल्ने काम गर्न सक्दिनँ। अरु काम गर्न सीप छैन।’
घाइते युवाले पैसाको अभावमा उपचार गराउन सकिरहेका छैनन्। शिविरमा बिरामी बालबालिका पनि खर्च अभावमा उपचारबिनै बस्न बाध्य छन्। शरणार्थी शिविरमा रहेकी नुरुत सवा भन्छिन्, ‘पानी पर्दा छाप्रोभित्र पूरै भिज्छ। बच्चाहरुलाई चिसोले समात्छ। अहिले ४० बालबालिका बिरामी छन् । घरेलु उपचार बाहेक केही हुन सकेको छैन।’ उनीहरुले आफ्ना बच्चालाई आधा पेट खाएर भए पनि सकेसम्म स्कुल पठाउने गरेको बताए।
म्यानमारमा हिंसा भड्किनुअघि उनीहरुलाई कुनै समस्या थिएन। माछा मारेर दिनको २ हजार केट (म्यानमारको मुद्रा) ज्याला पाउँथे। खेतीमा ३ महिना काम गर्दा ९ महिना खान पुग्थ्यो।
‘यहाँको अभाव सम्झिँदा आफ्नै देश फर्कौं जस्तो लाग्छ। तर, शान्तिप्रेमी बुद्धिस्टहरुले भड्काएको हिंसा र सेनाको दमन सम्झेर देश फर्किने रहर मर्छ,’ वृद्ध अब्दुज गला अवरुद्ध पार्दै सुनाउँछन्, ‘जलेका घर, बालबालिकाको हत्या हुँदा आमाहरुको चीत्कार, जवान छोरीहरुमाथि सेनाको बलात्कार हेर्न सकिँदैन। देश शान्त नभएसम्म हामी फर्कन सक्दैनौँ।’
रोहिंग्याको पीडा समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले म्यानमार सरकारको बारम्बार ध्यानाकर्षण गराइरहेको छ। तर, त्यसमा शान्तिका लागि नोबेल पुरस्कार पाएकी नेतृ आङ साङ सू चीको आश्चर्यजनक मौनतालाई विश्व समुदायले विरोध गरिरहेको छ। नेपालमा रहेका रोहिंग्या शरणार्थी पनि उनको मौनताको विरोध गर्छन्।
७० वर्षीया नुरुत सवा भन्छिन्, ‘आङ साङ सू ची शान्तिप्रेमी नेतृ थिइन्, तर उनी बुद्धिस्ट बाहेक अरुका लागि नेता हुन सकिनन्। संसारले माने पनि उनी हाम्रो नेता बनिनन्।’
शिविरमा रहेका ९७ परिवारका ६० जना आफन्तले म्यानमारमा गत साता भड्किएको हिंसामा ज्यान गुमाएका छन्। पछिल्लो हिंसामा पिल्सिएका ८७ हजार रोहिंग्या म्यानमारबाट भागेर बंगलादेश आइपुगेका छन्।
आफ्नो समुदायमाथि भएको ज्यादतीका समाचार हरेक दिन हेर्ने र दुःखद खबरहरु शिविरमा भएका अरुलाई सुनाउने गरेका अब्दुसले भने, ‘म्यानमारबाट भागेर बंगलादेश पुगेका हाम्रा दाजु–भाइ दिदी–बहिनीलाई बंगाली सेनाले कहिले लखेट्ने हो के टुंगो छ र ! सायद उनीहरु पनि हामी जस्तै अञ्जान ठाउँमा पुगेर जिउन विवश हुनेछन्।’
नेपालमा रहेका रोहिंग्याहरुले राष्ट्रसंघलाई घरफिर्तीको वातावरण बनाइदिन आग्रह गरेका छन्।
‘युएनएचसिआरले हामीलाई शरणार्थीको परिचयपत्र दिएको छ, तर हाम्रो घर फर्किन पाउने अधिकारमा केही गरेको छैन,’ अब्बास थप्छन्, ‘म्यानमारमा शान्ति छाओस् र हामी घर फर्कने वातावरण बनोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।