काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लागू भएको आचारसंहिता फिर्ता गर्ने विषयमा निर्वाचन आयोगले परामर्श शुरु गरेको छ।
सरकारले निर्वाचन आचारसंहिता फिर्ता गर्न आग्रह गरेपछि निर्वाचन आयोगले आन्तरिक परामर्श थालेको हो। 'प्रधानमन्त्रीले आयोगलाई निर्वाचन आचारसंहिता फिर्ता गर्न आग्रह गरेपछि हामी कति दिनसम्म फिर्ता गर्ने भन्ने विषयमा छलफलमा छौँ, केही दिनमै आयोगले निर्णय लिन्छ,' आयुक्त इश्वरीप्रसाद पौड्यालले भने।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता छिट्टै जारी हुँदा सरकारको कामकारबाहीमा असर परेको भन्दै फिर्ता लिन आयोगका पदाधिकारीलाई आग्रह गरेका छन्। 'प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तपाईंहरुले छिट्टै आचारसंहिता लगाउनुभयो, सरकारले गर्नुपर्ने काम धेरै छन् आचारसंहिता छिट्टै लागू हुँदा समस्या परेको छ। यो अहिलेलाई हटाउनुस्,' प्रधानमन्त्रीले आयोगका पदाधिकारीलाई गरेको आग्रह उद्धृत गर्दै सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने।
आचारसंहिता लागू भएपछि सरकारका प्रतिनिधिले विदेश भ्रमण समेत गर्न पाउँदैनन्। प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका प्रस्थान गर्ने तयारी गर्दैछन्। आचारसंहिता लागेकै बेला विदेश भ्रमण जाँदा आलोचना बढ्ने भएपछि प्रधानमन्त्रीले आचारसंहिता फिर्ता गर्न भनेका हुन्।
'प्रधानमन्त्री देउवालाई मन्त्रीहरुले आचारसंहिता फिर्ता गराउन निर्वाचन आयोगको ध्यानाकर्षणका लागि बारम्बार भनेका थिए। निर्वाचन आचारसंहिता छिट्टै आउँदा नियमित काममा समेत अप्ठ्यारो परेको गुनासो साथीहरुको थियो। आचारसंहिता अहिलेदेखि लागू नगर्न प्रधानमन्त्रीबाटै आग्रह हुनुपर्ने प्रस्ताव केही साथीले अघि सारेका थिए,' कानुनमन्त्री यज्ञबहादुर थापाले भने।
निर्वाचन आचारसंहिता छिट्टै लागू भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री विरबहादुर वलायरले सार्वजनिक रुपमा आपत्ति व्यक्त गरेका थिए। मन्त्री वलायरले निर्वाचन आयोगले संकटकालको शैलीमा आचारसंहिता ल्याएको भन्दै विरोध गरेका थिए। 'निर्वाचन सम्बन्धी आचारसंहिता सरकारसँगको समन्वयमा हुनुपर्ने हो, निर्वाचन आयोगले संकटकाल शैलीमा ल्यायो,' उनले भनेका थिए।
आचारसंहिता जारी भएपछि कर्मचारी सरुवा-बढुवा गर्न पाइँदैन। सरकारले त्यसलाई बेवास्ता गर्दै प्रहरी प्रशासनमा बढुवा र प्रमुख जिल्ला अधिकारीहरुको सरूवा गरेको भन्दै निर्वाचन आचरसंहिताको पूर्ण पालना गर्न प्रमुख प्रतिपक्षी एमालेले सरकारको समेत ध्यानाकर्षण गराएको थियो।
निर्वाचन आयोगले भने स्थानीय तहको निर्वाचन सम्पन्न हुने बित्तिकै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन आचारसंहिता केही दिनका लागि फिर्ता लिने गरी छलफल थालेको छ। प्रधानमन्त्रीको आग्रहअघि निर्वाचन आयोगले निर्वाचनको अवधि १ सय २० दिन सम्म हुने भएकाले आचारसंहिता कानुनी हिसाबले जायज भएको र फिर्ता लिनै नसकिने बताएको थियो। मंसिर १० र २१ गते घोषणा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले भदौ १४ गतेबाट आचारसंहिता लागू गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।