रौतहट– रौतहटको सबैभन्दा ठूलो चन्द्रपुर नगरपालिकामा ३ जना उपमेयरका महिला उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
एमालेबाट रामरती चौधरी, कांग्रेसबाट लक्ष्मी बराल र माओवादी केन्द्रबाट देवकी नेपालबीच कडा प्रतिस्पर्धा हुने चन्द्रपुरका मतदातामाझ चर्चा छ।
एमालेकी उम्मेदवार रामरती चौधरी लामो समय शिक्षण पेशामा आबद्ध भएर राजीनामा दिई चुनावमा होमिएकी छिन्।
विभिन्न सामाजिक सघं–संस्थामा समेत आबद्ध चौधरी राजनीतिक पृष्ठमूमिको परीवारमा जन्मे–हुर्किएकी हुन्। नेकपा एमालेको उपमेयर पदमा विवाद नभएकाले उनी पार्टीको सबै मत आउनेमा विश्वस्त छिन्। थारु समुदायका मतदाता धेरै रहेकाले पनि उनलाई जित्न सजिलो हुने एमालेका नेता–कार्यकर्ताको आँकलन छ।
यस्तै, नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार लक्ष्मी बराल विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छिन्। उनले महिला अधिकारको क्षेत्रमा विभिन्न संघ–संस्थामा रहेर काम गरेकी छिन्। चन्द्रपुरको उपमेयरमा पहिले कांग्रेसले जयमाला चौधरीको नाम चर्चामा ल्याएको थियो। पछि तुलसा कोइराला ठोकरको नाम पार्टीले सार्वजनिक गरेको थियो तर ठोकरले अस्वीकार गरेपछि बरालले उमपेयरको उम्मेदवार बन्ने मौका पाइन्। चन्द्रपुरमा कांग्रेसको उपस्थिति राम्रो रहेकाले आफू जित्नेमा उनी विश्वस्त छिन्।
माओवादी केन्द्रबाट उप मेयरको उम्मेदवार बनेकी देवकी नेपालले लामो समय नेकपा एमालेबाट राजनीति गरेकी हुन्। उनी दुई साताअघि मात्रै माओवादीमा प्रवेश गरेकी हुन्। अधिकारका क्षेत्रमा तथा सहकारी र संघ–संस्थामा लामो समय काम गरेकी नेपाल आफूलाई मतदाताले मनपराउनेमा ढुुक्क छिन्। तर, पार्टीमा आउने बित्तिकै उपमेयरको टिकट पाएको भन्दै असन्तुष्टि व्यक्त गर्ने कार्यकर्ताका कारण उनलाई केही क्षति हुने अनुमाग गरिन्छ।
यस्तै, नयाँ शक्ति नेपाल पार्टीले रञ्जु गौतम तिमल्सिनालाई उपमेयरमा उठाएको छ।
चन्द्रपुर नगरपालिकामा विभिन्न दलले ८ जनालाई उपमेयर पदमा उठाए पनि एमाले, कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारबीच नै प्रतिस्पर्धा केन्द्रित हुने निश्चित छ।
राप्रपा नेपालबाट सिता थापा, राजपा नेपालबाट रम्भादेवी चौधरी, नेपाली जनता दलबाट मनोजाकुमारी पासवान, नेपाल लोकतान्त्रिक फोरमबाट मरछियादेवी मैदानमा उत्रिएका छन्। चन्द्रपुरमा मधेशवादी दलहरुको उपस्थिति कमजोर मानिन्छ।
चन्द्रपुर नगरपालिकामा ३७ हजार ८ सय ४३ मतादाता छन्। ती मध्य १८ हजार ६ सय ८२ महिला मतादाता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।